माघ १४ काठमाडौँ । प्रतिनिधिसभा विघटन गरेपछि जनता समाजवादी पार्टी नेपाल (जसपा) विरोधमा तेस्रो चरणको आन्दोलन गर्ने कि नगर्ने भन्ने विषयमा पार्टीमा दुई धार देखिएको छ ।
दोस्रो चरणको आन्दोलन सम्पन्न भएको एक साता बितिसक्दा पार्टीले अहिलेसम्म अर्को चरणको आन्दोलनको कुनै निर्णय लिन नसक्नुको कारण पार्टीभित्र फरक–फरक धार हुनुनै भएको नेताहरुले बताएका छन् ।
तर, जसपा नेपालका कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्णले नेताहरु उपत्यका बाहिर रहेको कारण बैठक बस्न नसकेको बताए । उनले नेताहरु काठमाडौं आएपछि बैठक बसेर तेस्रो चरणको आन्दोलन घोषणा हुने प्रतिक्रिया दिए ।
उनले भने, ‘तेस्रो चरणको आन्दोलन गर्ने निश्चित छ, त्यो गर्ने नै हो तर आन्दोलनका क्रममा नेताहरु उपत्यका बाहिर जानु भएको थियो उहाँहरु सबैजना फर्किनु भएको छैन । फर्केपछि बैठक बसेर आन्दोलनको घोषणा हुन्छ ।’ तर उनले त्यस्तो बताएपनि तेस्रो चरणको आन्दोलन त्यति सजिलो तरिकाले घोषणा हुनेमा धेरैले आशंका गरेका छन् ।
जसपा नेपालमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसमा जस्तै आन्दोलनबारे मतभेद रहेको छ । प्रतिनिधिसभाले मात्र समस्या समाधान नहुने धारणा अध्यक्ष अध्यक्ष महन्थ ठाकुरलगायतका नेताहरुको रहेको छ भने अर्का अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरुले प्रतिनिधिसभा पुनःस्थापना मात्र एक विकल्प रहेको भन्दै आएका छन् । यस अवस्थामा तेस्रो चरणको आन्दोलन छिट्टै घोषणा हुनेमा आशंका रहेको पार्टीकै नेताहरु बताउँछन् ।
काँग्रेसभित्र दोस्रो चरणको आन्दोलन सम्पन्न गरेपछि तेस्रो चरणको आन्दोलन गर्ने कि नगर्ने भन्नेमा विवादथियो । वरिष्ठ नेता रामचन्द्र पौडेलले आन्दोलन घोषणा गर्न दवाव दिइरहेका थिए भने सभापति शेरबहादुर देउवा अदालतको निर्णलाई कुर्ने पक्षमा थिए । अन्त्यमा केन्द्रीय समितिको बैठकबाट नै निर्णय गरेर सो पार्टीले मंगलबार नै तेस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरिसकेको छ ।
त्यस्तै अवस्था जसपा नेपालमा पनि हुने देखिएको छ । ‘अबको आन्दोलनका कार्यक्रम वृहत छलफलबाट मात्र तय हुन्छ’, राजपा नेपालका एक नेताले भने, ‘दुई चरणको आन्दोलन सम्पन्न भएको छ, त्यसको समीक्षा समेत हुन्छ, समीक्षापछि आन्दोलनको आवश्यकता भए निर्णयमा पुगिन्छ ।’