फागुण १५, काठमाडौ । पोखरामा हुने आहा रारा गोल्डकपको १९औं संस्करणमा पनि विधागत ट्रफी बेलायतबाट आउने भएको छ । म्यान अफ दी म्याचसहित विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई प्रदान गरिने ट्रफी बेलायतबाट आउने आयोजक सहारा क्लबले जनाएको छ ।
सहारा युकेको सहयोगमा १० खेलका लागि १० वटा म्यान अफ दी म्याच ट्रफी, प्रतियोगिताको उत्कृष्ट हुने खेलाडी, उत्कृष्ट स्ट्राइकर, मिडफिल्डर, रक्षक, गोलरक्षक, प्रशिक्षक, सबैभन्दा धेरै गोल गर्ने खेलाडी र अनुशासित टिमलाई प्रदान गरिने आकर्षक ट्रफी बेलायतबाट आउने भएको हो ।
विजेता तथा उपविजेता खेलाडीहरूलाई प्रदान गरिने मेडलसमेत बेलायतबाट ल्याइने भएको छ। आहा रारा गोल्डकपको १९औं संस्करण चैत १७ गतेबाट पोखरा रंगशालामा हुनेछ । मोफसलको बहुप्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लबस्तरीय आमन्त्रित आहा रारा गोल्डकप चैत २८ गतेसम्म सञ्चालन हुनेछ ।