जेठ २१, काठमाडौ । एमालेको माधवकुमार नेपाल पक्षका केन्द्रीय सदस्यले वार्तासँगै नयाँ पार्टी गठनमा लाग्नुपर्ने सुझाव दिएका छन् । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पक्षले रोक्दारोक्दै नेपाल पक्षले आफू निकट केन्द्रीय सदस्यको बैठक बिहीबार बसेको हो । बैठकमा सहभागी नेताले वार्ता गरे पनि त्यसमै अल्झिन नहुने राय नेतृत्वलाई दिएका हुन् ।
एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले एक वक्तव्य जारी गर्दै पार्टीले कारबाही गरेका व्यक्तिले बोलाएको बैठकमा सहभागी नहुन आग्रह गरेका थिए । तामाङले केन्द्रीय सदस्यलाई पार्टी विधान र मुलुकको कानुनविपरीतका क्रियाकलापमा सहभागी नहुन आह्वान गरेका थिए ।