असोज ६ , काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीभित्र छलफल नै नगरी मन्त्री नियुक्त गरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले असन्तुष्टि जनाएका छन् । उनले पार्टीमा छलफलपछि मात्रै सरकारमा सहभागी हुने मन्त्रीको नाम तय गर्नुपर्ने बताए ।
नेता पौडेलले मन्त्री नियुक्तिमा प्रधानमन्त्री देउवाले एकलौटी गर्न खोजेको भन्दै आफूपक्षीय नेताहरुको बैठक बोलाएका छन् । बैठक महामन्त्री डा. शशांक कोइराला निवास महाराजगञ्जमा बुधबार दिउँसो बस्ने छ ।
पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले परराष्ट्रमन्त्रीमा डा. नारायण खड्कालाई नियुक्त गरेका छन् ।
मंगलबार सत्तारुढ दलहरुको बैठकले परराष्ट्रमन्त्रीमा कांग्रेसका नेता एवं पूर्वमन्त्री डा. खड्कालाई नियुक्त गर्ने निर्णय गरेको थियो । तर कांग्रेस वरिष्ठ नेता पौडेलले भने मन्त्री नियुक्तिका विषयमा पार्टीभित्र छलफल हुनुपर्ने माग गरेका थिए ।