मंसिर २४, एजेन्सी । इंग्लिस क्लब लेस्टर सिटी युरोपा लिग फुटबलको समूह चरणबाटै बाहिरिएको छ । बिहीबार राति भएको खेलमा इटालियन क्लब नापोलीसँग ३-२ ले पराजित भएसँगै लेस्टर समूह चरणबाट बाहिरिएको हो ।
नापोलीलाई जित दिलाउन इलिफ इल्मासले दुई गोल गरे । एडम ओउनासले एक गोल थपे । लेस्टरका जोनी इभान्स र ड्युसबरी हालले एक एक गोल फर्काए ।
खेलको चौंथो मिनेटमा एडमले गोल गर्दै नापोलीलाई अग्रता दिलाएका थिए । २४ औं मिनेटमा इल्मासले गोल गर्दै टिमको अग्रता २-० को बनाए ।
खेलको २७ औं मिनेटमा लेस्टरका जोनीले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए । ३३ औं मिनेटमा लेस्टरका हालले गोल गरेपछि खेल २-२ को स्थितिमा पुग्यो । तर, खेलको ५३ औं मिनेटमा इल्मासले व्यक्तिगत दोस्रो गोल गर्दै नापोलीलाई ३-२ को जित दिलाए ।
यस जितसँगै नापोली समूह ‘सी’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेको छ । नापोलीले ६ खेलमा १० अंक जोड्यो । लेस्टर ६ खेलमा ८ अंक जोडेर तेस्रो स्थानमा रह्यो ।
यस समूहबाट स्पार्टक मस्को १० अंक जोडेर समूह विजेता बन्दै अन्तिम १६ मा पुगेको छ ।