माघ २०, काठमाडौं । अब वायुसेवा कम्पनी एक आपसमा गाभिन र प्राप्ति (मर्जर र एक्वीजिसन)मा जान सक्ने भएका छन् । त्यसका लागि सरकारले समेत प्रोत्साहन समेत गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पहिलो पटक वायुसेवा कम्पनीले समेत मर्जरमा जान सक्ने गरी प्रावधान ल्याउन लागेको छ । मन्त्रालयले राष्ट्रिय हवाई नीति २०७६ को प्रारम्भिक मस्यौदा तयार पारेर सार्वजनिक गरेको छ ।
मस्यौदामा पहिलो पटक वायुसेवा कम्पनीसमेत गाभिएर बलियो कम्पनी बन्न सक्ने प्रावधान आएको छ । ‘अस्वस्थ प्रतिस्पर्धाका कारणबाट वायुसेवा संस्थालाई पलायन हुन नदिई क्षमता तथा पूँजी लगानीको आधारमा दीगो सञ्चालन सुनिश्चित गर्न वायुसेवा कम्पनी पनि एक आपसमा गाभिने र प्राप्ती गर्ने क्रियाकलापलाई प्रोत्साहन गरिने छ’, मस्यौदामा उल्लेख छ ।
अहिले नेपालमा १९ वटा वायुसेवा कम्पनीले आन्तरिकतर्फ उडान गरिरहेका छन् । त्यसमध्ये १० वटा हेलिकोप्टर हुन् । अन्तराष्ट्रियतर्फ तीन कम्पनीले ९नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र बुद्ध एयर०ले उडान गर्छन् । नेपाल एयरलाइन्स र बुद्धले भने आन्तरिकमा समेत उडान गर्छन् । सञ्चालनमा रहेका धेरै कम्पनी नाफामा छैनन् । विगतमा पनि वायुसेवा कम्पनी खुल्ने र बन्द हुने क्रम अधिक रहेको छ ।