जेठ २६,काठमाडौँ । विश्व नै डिजिटल प्रणालीमा अघि बढिरहेको समयमा नेपालमा पनि डिजिटल नेपालको निर्माण गर्ने सरकारको लक्ष्य अनुरुप नेपाल आयल निगमले इन्टरप्राइज रिसोर्स प्लानिङ (इआरपी) सिस्टम जडानको लागि काम अगाडि बढेसँगै तेल चोरी तथा मिसावटमा ठूलो मात्रामा गिरावट आउने बताइएको छ । मेनुयल सिस्टमबाट हुने ढिला सुस्ती हटाएर अझ व्यवस्थित बनाउन इआरपी सिस्टममा जडानको लागि काम बढिरहेको बताइएको छ ।
२८ करोड रुपैयाँको लागतमा अबको तीन वर्ष भित्रमा भने इआरपी सिस्टम जडान भइसक्ने भएको छ । यो कार्यको लागि सफ्टवेयर, आवश्यक हार्डवेयर तथा तालिम समेतको व्यवस्था गरिएको छ । यो सिस्टम जडान भइसकेपछि म्यानेजमेन्ट इन्फरमेशन सिस्टम, एकाउन्टिङ सिस्टम, सुरक्षित डाटा भण्डारण लगायतका कार्य डिजिटल नै हुनेछन् । यो सिस्टम बनेपछि एक क्लिकमा देशभरको तथ्याङ्क ९डाटा० हेर्न सकिने बताइएको छ । यो सिस्टम लागु भएपछि ‘इ लकिङ सिस्टम’ हुने बताइएको छ । भारतबाट ट्याङकर आउँदा ट्याङकर कहाँ आइपुग्यो, निर्धारित बाटो भन्दा बाहिर गए नगएको सबै थाहा हुन्छ । साथै ट्याङकरमा कति तेल छ भनेर समेत अनुगमन गर्न सकिनेछ ।
इआरपी सिस्टमले कम्पनीलाई एकीकृत व्यवस्थापन गर्ने साथै अटोमेशनमा जान बाटो खोल्नेछ । मिसावटयुक्त तेल बिक्री बितरण गर्ने पम्पहरुले समेत नेपाल आयल निगमबाट नै मिसावटयुक्त तेल आएको भन्दै पन्छिने गरेका छन् । मिसावटयुक्त तेल वितरण गर्ने अधिकांश पम्पहरुलाई निगमले कारवाही समेत गरेको छ । तेलमा हुने चोरी तथा मिसावटलाई हटाउन भन्दै मेकानिकल लकिङ् सिस्टम निगमले सुरु गरे पनि मिसावट र चोरीका घटनामा भने खासै कमी आएको देखिँदैन ।
भारतबाट तेल ढुवानी गर्दा बीच बाटोबाट नै तेल चोरी हुने तथा तेलमा पानी लगायत बस्तुहरु मिसावट भइरहेका समाचारहरु आउनेक्रम अझै रोकिएको छैन । विभिन्न डिपोहरुको मिलोमतोमा ट्याङ्कर व्यवसायीहरुले मेकानिकल लकिङ् सिस्टम खोल्न सक्ने ‘मास्टर कि’ समेत चोरी गरी लकिङ् सिस्टम खोलेर मिसावट गरी ठूलो चलखेल हुने अनुमान गरिएको छ । जसको रोकथाम तथा नियन्त्रणको लागि निगमले इआरपी सिस्टम जडानको काम अघि बढाएको कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले जानकारी दिए ।
गत फागुनमा सिनामंगल डिपोबाट मास्टर कि नै हरायो भने भारतबाट डिजेल बोकेर आएका दर्जनौं ट्याङकरमा मट्टीतेल मिसाएको पाइएपछि ट्याङकरहरुलाई कारवाहीको दायरमा ल्याइएको निर्देशक पौडेलले जानकारी दिए । पटक पटक इन्टरप्राइज रिसोर्स प्लानिङ (इआरपी) सिस्टम जडानको लागि प्रयासहरु नभएका भने हैनन् तर चोरीमा संलग्न गिरोहले माथिल्लो तहसम्म नै चलखेल गरेका कारण इआरपी जडानको लागि खोलिएका टेन्डरहरुले मूर्त रुप लिन सकेका छैनन् । निगममा इआरपी सिस्टम जोड्नको लागि पटक पटक प्रयासहरु भए पनि चलखेल गर्ने समूहको कारण जडान हुन नसकेको बताइएको छ । मेनुयल सिस्टमबाट कम्युटरकृत सिस्टममा जाँदा निमगको लागत घट्ने, तेल चोरी बन्द हुने भएका कारण यसबाट लाभ लिने समुह अताल्लिएको निगमकै एक कर्मचारीले बताएका छन् ।
इआरपी सिस्टम जडान सफल भएमा वर्षौंदेखि मेनुयल रुपमा हुँदै आएको कामकाज समेत कम्युटरकृत हुनेछन् । निगममा सिस्टम अपग्रेट नहुँदा अस्तब्यस्त ढंगले आर्थिक कारोवारहरु कागजी ढड्ढामा मेनुयल रुपमा डिपोहरुले गर्दै आएका छन् । जसको कारण तेल चोरी हुने गरेको बताइएको छ ।
निगमको कामलाई छिटो, छरितो तथा व्यवस्थित बनाउन सम्बन्धित मन्त्रालयलाई समेत दवाब बढेसँगै इआरपी सिस्टम जडानको लागि टेन्डर भएर मूल्याङ्कनको अन्तिम चरणमा पुगेको निर्देशक पौडेलले जानकारी दिनुभयो । यो सँगै आगामी दिनमा निगम व्यवस्थित हुने भएको छ । सरकारको ढुकुटीमा सबैभन्दा धेरै आम्दानी गर्ने मध्येको एक निगमको कामकाजलाई प्रविधिमैत्री बनाउँदै परिस्कृत गर्न ढिलो भइसकेको निगमका कार्यकारी निर्देशक पौडेलले बताए ।
निर्देशक पौडेलले भने, ‘सकारात्मक ढंगले निगमका कामकाजहरु अगाडि बढाउन लागिरहेको छु । निगमको आवश्यकता के छ भनेर काम अगाडि बढाउन खोजेको छु । जतिसक्दो चाँडो अटोमेशनमा जानु पर्नेछ । पुराना कागजी ढड्ढाबाट गरिँदै आएका कामहरु अबको दिनमा अपग्रेड गर्दै अझै सुरक्षित, छिटो, छरितो बनाउन कम्प्युटरकृत गर्दै जानुको विकल्प छैन ।’
देशभर अहिले १ हजार चार सय वटा भन्दा बढी पम्पहरुबाट पेट्रोलियम पदार्थ बिक्री वितरण भइरहेको छ । आफ्नो अनुकूल हेरेर तेल हुँदा हुँदै पनि तेल पम्प बन्द गर्ने जस्ता कार्यहरु हुँदै आएका छन् । निगममा मेनुयल सिस्टम भएका कारण अनुगमन गर्न कठिनाई परेको छ ।