भाद्र २८,काठमाडौँ । बैंक तथा वित्तीय संस्थामा केही समययता अधिक तरलता (पर्याप्त लगानी योग्य रकम) को अवस्था छ । पछिल्लो तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थामा करिब २ सय अर्ब रुपैयाँ तरलता रहेको केन्द्रीय बैंकले बताएको छ । विशेष गरेर चैत यता बैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलताको अवस्था आएको हो । यससँगै निक्षेपमा बैंकहरुले धमाधम ब्याज घटाउन थालेका हुन् । बैंक तथा वित्तीय संस्थाले निक्षेपको ब्याजदर घटाएसँगै त्यसको प्रभाव आधार दर (बेस रेट) मा पनि परेको छ ।
त्यसैले बैंकहरुको आधार दर पनि घट्दो क्रममा रहेको छ । २०७६ असारको तुलनामा २०७७ असार मसान्तसम्म आइपुग्दा राष्ट्रिय वाणिज्य बैंक बाहेक सबै बैंकको आधार दर घटेको छ । त्यसो त अधिक तरलता अवस्था सुरु भएको चैतदेखि असार मसान्तसम्म आइपुग्दा सञ्चालनमा रहेका २७ वटै वाणिज्य बैंकको आधार दर घटेको छ । आधार दर घटेसँगै कर्जाको ब्याजदर पनि घट्न थालेको हो । बैंकहरुले आधार दरमा निश्चित प्रतिशत प्रिमियम थप गरेर कर्जाको ब्याजदर निर्धारण गर्दै आएका छन् ।
सामान्यतयः वित्तीय संस्थाहरुले त्रैमासिक रुपमा नयाँ आधार दर निर्धारण गर्छन् । केहीले भने मासिक रुपमा पनि आधार दर परिवर्तन गरेको देखिन्छ । यसैक्रममा अधिकांश वित्तीय संस्थाले साउनदेखि नयाँ आधारदर निर्धारण गरेर ऋणको ब्याजदर समायोजन गरेका छन् । अहिले अधिकांश ठूला वाणिज्य बैंकहरुले बचतको ब्याजदर न्यून बिन्दुमा झारेका छन् । कर्जाको ब्याजदर पनि विभिन्न स्किमहरु ल्याएर एकल अंकमा झारिरहेका छन् ।
कुन बैंकमा ब्याजदर सस्तो ?
बेस रेटलाई आधार मन्दा सबैभन्दा सस्तो ब्याजदर राष्ट्रिय वाणिज्य बैंकको रहेको छ । यस बैंकको आधार दर ५.८ प्रतिशत रहेको छ । तथापि, यसको बेस रेट अघिल्लो आर्थिक वर्षको भन्दा बढी हो । अघिल्लो आर्थिक वर्ष बैंकको बेस रेट ५.५ प्रतिशत रहेको थियो । बेस रेटमा नै केही प्रतिशत प्रिमियम जोडेर बैंकहरुले ब्याजदर कायम गर्ने भएकाले यसकै आधारमा बैंकको ब्याजदर सस्तो छ भन्न सकिन्छ ।
दोस्रो नम्बरमा नेपाल बैंक रहेको छ । यसको बेसरेट ६.९९ प्रतिशत छ । अघिल्लो वर्ष यसको बेस रेट ७.९८ प्रतिशत थियो । यता, स्टान्डर्ड चार्टर्ड बैंकको बेस रेट ७ प्रतिशत छ । कुमारी बैंकको बाहेक अन्य बैंकको बेस रेट १० प्रतिशत भन्दा कम छ । कुमारीको बेस रेट १०.०८ प्रतिशत छ ।
३ महिनाको अवधिमा पनि २७ वटै बैंकको बेस रेट घट्यो
चैत मसान्तको तुलनामा असार मसान्तमा २७ वटै वाणिज्य बैंकको बेस रेट घटेको छ । चैत महिनादेखि सुरु भएको लक डाउनका कारण बैंक तथा वित्तीय संस्थामा अधिक मात्रामा तरलता थपिएपछि बैंकहरुलाई बेस रेट घटाउन दबाब परेको हो ।
बेस रेटमा केही प्रतिशत प्रिमियम थप गरेर बैंकहरुले कर्जा प्रवाह गर्दै आएका छन् । तथापि, यस अवधिमा बैंकहरुले निक्षेपको ब्याजदर घटाएका छन् भने कर्जामा पनि विभिन्न योजनाहरु ल्याएका छन् । जसमार्फत अधिकांश ठूला बैंकले ब्याजदर एकल अंकमा ल्याएका छन् ।