जेठ १७, काठमाण्डौँ । धादिङको धुनिबेसीमा अत्याधुनिक तथा देशकै सबैभन्दा ठूलो पोल्ट्री प्रोसेसिङ उद्योग सञ्चालन र उच्च गुणस्तरको पोल्ट्री उत्पादनको बिक्री वितरणमा संलग्न के.बी. एग्रो एन्ड रिसर्च कम्पनी र शक्ति ब्रान्डमा पेलेट फिड समेत उत्पादन गर्दै आएको निम्बस ग्रुपले कुखुराजन्य वस्तुको बजार व्यवस्थापनमा साझेदारी गर्ने भएका छन् । सोको लागि मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा निम्बसका प्रबन्ध निर्देशक आनन्द बगरिया र के.बी. एग्रोका अध्यक्ष केशवराज थापाले सेयर खरिदबिक्री सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ । के.बी. एग्रोका अध्यक्ष थापा नेपाल पेलेट फिड र जानुका ह्याचरीका सञ्चालक समेत छन् ।
यो सहकार्यबाट साझेदारीमा संलग्न उद्योगी मात्र नभएर कुखुरापालक किसान र उपभोक्ता समेत लाभान्वित हुने अपेक्षा गरिएको छ । साझेदारी अन्तर्गत गुणस्तरीय दाना आपूर्ति, मासु र अण्डा उत्पादन तथा बजार व्यवस्थापन मासुको हकमा “शक्ति मिट” र अन्य परिकारको हकमा “इट फस्र्ट”को नामले हुनेछ । के.बी. एग्रोसँगको सहकार्यसँगै गुणस्तरीय उत्पादनमा ख्याती कमाएको निम्बस पोल्ट्रीजन्य कारोबारमा प्रवेश गरेको छ ।
कुखरा उत्पादन, सही मूल्यमा गुणस्तरीय दानाको उपलब्धता र बजारमा उचित मूल्यमा उच्च गुणस्तरको पोल्ट्रीजन्य वस्तुको उपलब्धता सुनिश्चित गर्न दुई समूहले साझेदारी गरेको सम्झौतापछि के.बी. एग्रोले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।