पाँच वाणिज्य बैंकलाई राष्ट्र बैंकको डण्डा

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८२ बैशाख १९, शुक्रबार (१ दिन अघि)
  • ७३ पटक पढिएको
पाँच वाणिज्य बैंकलाई राष्ट्र बैंकको डण्डा

वैशाख, १९ काठमाडौं । नेपाल राष्ट्र बैंकले पाँच वटा वाणिज्य बैंकमाथि कारबाही गरेको छ । राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा नियम मिच्ने पाँच वाणिज्य बैंकलाई कारबाही गरेको हो ।

राष्ट्र बैंकका अनुसार कारबाही पर्ने बैंकहरुमा राष्ट्रिय वाणिज्य बैंक, कुमारी बैंक, लक्ष्मी सनराइज बैंक, नेपाल बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंक रहेका छन् । राष्ट्र बैंकले यी बैंकका सीईओहरुलाई सचेत गराउनेदेखि बैंकमाथि जरिवाना गरेको हो ।

राष्ट्र बैंकले तोकिएका क्षेत्रमा कर्जा प्रवाह गर्नुपर्ने न्यूनतम प्रतिशतभन्दा कम कर्जा प्रवाह गरेको स्ट्याण्डर्ड चार्टर्ड बैंकलाई १४ करोड ८५ लाख २५ हजार ५६६ रुपैयाँ जरिवाना तिराइएको छ ।

यस्तै नेपाल बैंक लिमिटेडलाई पनि पाँच लाख रुपैयाँ जरिवाना तिराइएको छ । बैंकका सञ्चालक समितिका तत्कालीन अध्यक्ष डा. चन्द्र बहादुर अधिकारीले आफ्नो पद र नाम दुरुपयोग गरी व्यक्तिगत फाइदा हुने क्रियाकलापमा संलग्न रहेको पाइएको छ । राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त संस्थालाई जारी गरिएको एकीकृत निर्देशनको व्यवस्थाको उल्लंघन गरेकोले सो कसुरमा पाँच लाख जरिवाना गरिएको राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकले केही कर्जाहरूलाई सूक्ष्म निगरानी वर्गमा वर्गीकरण नगरेको पाइएको छ । कर्जाहरूको जोखिम भार गणना गर्दा यस बैंकबाट जारी क्यापिटल एडूक्युसी फ्रेमवर्क २०१५ बमोजिम जोखिम भार गणना नगरेको पाइएकोले बैंकका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको छ ।

त्यस्तै, कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृतलाई पनि सचेत गराइएको छ । यस बैंकले निष्क्रिय कर्जालाई वर्गीकरण नगरेको तथा न्यूनतम कर्जा नोक्सानी व्यवस्था कायम नगरेको पाइएको राष्ट्र बैंकले जनाएको छ ।

लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृतलाई राष्ट्र बैंकले नसिहत दिएको छ । बैंकको नियम विपरित कर्जा वा सुविधा प्रदान गर्न बन्देज गरिएकाहरुमा नियम विपरीत अप्रत्यक्ष रूपमा कर्जा सुविधा उपलब्ध गराएको पाइएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस