जेठ १३, काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार आर्थिक वर्ष २०८१/८२ को प्रादेशिक कुल ग्रार्हस्थ्य उत्पादनको अनुमान सार्वजनिक गरेको छ । चालु वर्ष राष्ट्रिय तहमा प्रतिव्यक्ति कुल ग्रार्हस्थ्य उत्पादन अमेरिकी डलरमा १ हजार ४९६ हुने प्रारम्भिक अनुमान कार्यालयले गरेको छ ।
कार्यालयका अनुसार अमेरिकी डलरमा बागमती प्रदेशको २ हजार ६०२, गण्डकीको १ हजार ६१९, कोशीको १ हजार ४०१, लुम्बिनीको १ हजार २०१, सुदुरपश्चिमको १ हजार १५३्, कर्णाली प्रदेशको १ हजार ९ र मधेश प्रदेशको ९३२ हुने प्रारम्भिक अनुमान गरिएको छ ।
कार्यालयले आर्थिक वर्ष २०८१÷८२ मा राष्ट्रिय वार्षिक कुल ग्रार्हस्थ्य उत्पादन उपभोक्ता मूल्यमा करिब ६१ खर्ब ७ अर्ब हुने अनुमान सार्वजनिक गरेको छ । वागमति प्रदेशको योगदान सबै भन्दा बढी ३६.५२ प्रतिशत रहने केन्द्रीय तथ्यांक कार्यालयले जनाएको छ ।
सबैभन्दा कम कर्णाली प्रदेशले ४.१९ प्रतिशत योगदान पुर्याउने प्रारम्भिक अनुमान कार्यालयले गरेको छ । कोशी प्रदेशले १५.९०, लुम्बिनीले १४.२३, मधेशले १३.१६, गण्डकीले ८.९८ र सुदुरपश्चिम प्रदेशले ७.०३ प्रतिशत योगदान पुर्याउने अनुमान कार्यालयले गरेको छ ।
गत वर्षको तुलनामा कुल ग्रार्हस्थ्य उत्पादनमा कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिमको योगदान सिमान्त रुपमा घटेको छ । मधेश र बागमती प्रदेशको योगदान सिमान्त रुपमा बढेको छ ।
प्रादेशिक कुल ग्रार्हस्थ्य उत्पादनको वृद्धिदर सबैभन्दा धेरै गण्डकी प्रदेशको ५.५१ र त्यसपछिको धेरै बागमती प्रदेशको ५.१८ प्रतिशत रहने अनुमान कार्यालयले गरेको छ । सबैभन्दा थोरै वृद्धिदर सुदुरपश्चिम प्रदेशको ३.३२ प्रतिशत हुने प्रारम्भिक अनुमान छ ।
चालु वर्ष बागमती प्रदेश बाहेक सबै प्रदेशमा कृषि क्षेत्रको योगदान सबैभन्दा बढी देखिन्छ भने बागमती प्रदेशमा थोक तथा खुद्रा व्यापार क्षेत्रको योगदान सबैभन्दा बढी देखिन्छ । कोशी र मधेश प्रदेशमा व्यापार क्षेत्रले दोस्रो हिस्सा ओगटेको छ भने बागमती प्रदेशमा घरजग्गासम्बन्धी कारोबार सेवाको हिस्सा दोस्रो स्थानमा रहेको छ ।
प्रतिव्यक्ति कुल ग्रार्हस्थ्य उत्पादन सबैभन्दा धेरै बागमती प्रदेशको र सबैभन्दा कम मधेश प्रदेशको हुने प्रारम्भिक अनुमान रहेको छ ।