असार २४, काठमाडौं । नेपालको अर्थतन्त्र सुधारिदै गएको छ । नेपाल राष्ट्र बैंक जारी गरेको विवरणमा चालु आर्थिक वर्षको ११ महिनामा विभिन्न आर्थिक सूचकांकहरू सकारात्मक सुधार देखिएको छ ।
चालु वर्षको ११ महिनामा विदेशी मुद्रा सञ्चिति र रेमिट्यान्समा उल्लेखनीय वृद्धि भएको छ । ११ महिनामा विप्रेषण आप्रवाह (रेमिट्यान्स) १५.५ प्रतिशत बढेर १५ खर्ब ३२ अर्ब ९३ करोड रुपैयाँ भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७.२ प्रतिशतले बढेको थियो ।
जेठ महिनामा मात्रै १ खर्ब ७६ अर्ब ३२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएका राष्ट्र बैंकले जनाएको छ । गत वर्षको जेठ महिनामा १ खर्ब २८ अर्ब ९१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।
समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२.७ प्रतिशतले वृद्धि भई ११ अर्ब २५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १५.२ प्रतिशतले बढेको थियो
राष्ट्र बैंकका अनुसार खुद द्वितीय आय (खुद ट्रान्सफर) १६ खर्ब ६८ अर्ब ३० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १४ खर्ब ४३ अर्ब १० करोड रुपैयाँ रहेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ४ लाख ५२ हजार ३२४ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ३ लाख ८ हजार ६७ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ४ लाख २१ हजार ३५६ र २ लाख ६१ हजार २१० रहेको थियो ।
विदेशी मुद्रा सञ्चिति २५ खर्ब नाघ्यो
चालु वर्षको ११ महिनामा नेपालको विदेशी मुद्रा सञ्चिति उल्लेखनीय रूपमा वृद्धि भएको छ । जेठ मसान्तसम्म कुल विदेशी विनिमय सञ्चिति २५ खर्ब ६९ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा २५.९ प्रतिशतले वृद्धि हो । २०८१ असार मसान्तमा सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ थियो ।
अमेरिकी डलरमा हेर्दा पनि सञ्चिति २२.२ प्रतिशतले वृद्धि भई १८ अर्ब ६५ करोड पुगेको छ, जुन अघिल्लो वर्षको असार मसान्तमा १५ अर्ब २७ करोड मात्रै थियो । राष्ट्र बैंकको हिस्सा मात्रै २३ प्रतिशतले बढेर २२ खर्ब ७४ अर्ब ४७ करोड पुगेको छ भने बैंक तथा वित्तीय संस्थाको सञ्चिति पनि ५३.२ प्रतिशतले बढेर २ खर्ब ९४ अर्ब ९२ करोड पुगेको छ । कुल सञ्चितिमा भारतीय मुद्राको हिस्सा २०.५ प्रतिशत रहेको छ ।
विदेशी मुद्रा सञ्चितिले १४.७ महिनाको वस्तु तथा सेवा आयात कभर गर्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ ।
वार्षिक मुद्रास्फीति घटेर २.७२ प्रतिशतमा सीमित
चालु आर्थिक वर्ष ११ महिनामा उपभोक्ता मूल्य सूचकांकमा आधारित वार्षिक विन्दुगत मुद्रास्फीति घटेर २.७२ प्रतिशतमा सीमित भएको छ । यो अघिल्लो वर्षको सोही अवधिमा रहेको ४.१७ प्रतिशतभन्दा कम हो ।
खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ०.५४ प्रतिशतमा सीमित हुँदा गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९४ प्रतिशत पुगेको छ। खाद्य समूहभित्र घ्यू तथा तेलको मूल्यमा १०.०६ प्रतिशत वृद्धि भएको छ भने तरकारीको मूल्य ७.०४ प्रतिशतले घटेको छ ।
गैर–खाद्य समूहमा विविध वस्तु तथा सेवामा ९.४३ प्रतिशत, कपडा तथा जुत्ता–चप्पलमा ६.८२ प्रतिशत, शिक्षामा ५.८८ प्रतिशत, फर्निचर तथा घरायसी उपकरणमा ५.०६ प्रतिशत र सुर्तीजन्य वस्तुमा ४.६८ प्रतिशत मूल्य वृद्धी देखिएको छ ।
स्थानगत रूपमा ग्रामीण क्षेत्रको मुद्रास्फीति २.९० प्रतिशत र सहरी क्षेत्रको २.६६ प्रतिशत रहेको छ । त्यस्तै काठमाडौं उपत्यकाको मुद्रास्फीति २.७३ प्रतिशत, तराईमा २.५८, पहाडमा २.४८ र हिमाली क्षेत्रमा सबैभन्दा बढी ४.१८ प्रतिशत मापन गरिएको छ।
प्रदेशगत विवरणअनुसार, कोशी र हिमाल क्षेत्रमा मुद्रास्फीति ४.१८ प्रतिशतले सबैभन्दा बढी छ । सुदूरपश्चिममा ३.८६, कर्णालीमा २.५४, लुम्बिनीमा २.३९, मधेशमा २.५२, गण्डकीमा १.७५ र बागमतीमा २.२९ प्रतिशत मुद्रास्फीति मापन गरिएको छ। यता, थोक मूल्य सूचकांकमा आधारित मुद्रास्फीति १.५६ प्रतिशतमा झरेको छ ।
चालु खाता ३०७ अर्ब नाघ्यो
चालु वर्ष ११ महिनामा नेपालको चालु खाता रु. ३०७ अर्ब ३१ करोडले बचतमा रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा वृद्धि हो । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु. २०० अर्ब ३८ करोडले बचतमा थियो ।
अमेरिकी डलरमा पनि चालु खाता बचत वृद्धि भई १ अर्ब ५१ करोडबाट २ अर्ब २६ करोडमा पुगेको छ । यस अवधिमा खुद पुँजीगत ट्रान्सफर रु. ८ अर्ब ९६ करोड रहेको छ, जुन अघिल्लो वर्षको ५ अर्ब ४६ करोडभन्दा बढि हो । साथै, प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) रु. ११ अर्ब ९ करोड भित्रिएको छ, जुन अघिल्लो वर्षको ८ अर्ब २४ करोडको तुलनामा वृद्धि हो ।
समीक्षा अवधिमा नेपालको शोधनान्तर स्थिति रु. ४९१ अर्ब ४४ करोडले बचतमा रहेको छ, जुन अघिल्लो वर्षको ४२५ अर्ब ६७ करोडको तुलनामा बढि हो । अमेरिकी डलरमा समेत शोधनान्तर स्थिति सुधार भई अघिल्लो वर्षको ३ अर्ब २० करोडबाट ३ अर्ब ६२ करोड पुगेको छ ।
सरकारको आन्तरिक कर्जा ३.४ प्रतिशतले वृद्धि
चालु आर्थिक वर्ष २०८१÷८२ को जेठ मसान्तसम्म सरकारले आन्तरिक कर्जामा ३।४ प्रतिशतले वृद्धि गरेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार, अघिल्लो वर्षको सोही अवधिमा आन्तरिक कर्जा ३।५ प्रतिशतले बढेको थियो ।
वार्षिक विन्दुगत आधारमा हेर्दा, जेठ मसान्तमा आन्तरिक कर्जा ६।० प्रतिशतले वृद्धि भएको छ । यद्यपि, मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दाबी २२।१ प्रतिशतले घटेको छ, जुन अघिल्लो वर्षको १२।५ प्रतिशतको तुलनामा बढी हो ।
त्यसैगरी, मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबीमा भने वृद्धि देखिएको छ । चालु आर्थिक वर्षमा जेठ मसान्तसम्म निजी क्षेत्रमाथिको दाबी ८।७ प्रतिशतले बढेको छ, जुन अघिल्लो वर्षको ६।६ प्रतिशतभन्दा उच्च दर हो ।
वार्षिक विन्दुगत हिसाबले पनि निजी क्षेत्रमाथिको दाबी ८।२ प्रतिशतले वृद्धि भएको छ। यी तथ्यांकहरूले मौद्रिक क्षेत्रमा निजी क्षेत्रको ऋण माग बढिरहेको र सरकारमाथिको ऋण दाबी घटिरहेको देखिन्छ ।