कोरोनाका बिरामीलाई ‘आइबुप्रोफेन’ कत्तिको जोखिमपूर्ण ?

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ चैत्र ९, आईतबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

चैत्र ९, काठमाण्डौ । फ्रान्सका स्वास्थ्य मन्त्रीले यसअघि ‘आइबुप्रोफेन र एस्प्रिन’ सम्बन्धी दिएको चेतावनीबारे अहिले विश्वभरका विज्ञहरु बहस गरिरहेका छन् । मन्त्री ओलिभर भेरेनले ट्वीटर मार्फत सबैलाई कोरोनाको लक्षणबाट मुक्त हुन त्यस किसिमका औषधि सेवन नगर्न भनेका हुन् । उनको सो ट्वीट व्यापक शेयर भएको थियो भने अझै यसको चर्चा भइरहेको छ । उनका अनुसार आइबुप्रोफेन लगायतका ‘एन्टि–इन्फ्लामेटरी’ औषधिले कोरोनाका कारण उत्पन्न हुने लक्षणलाई झन खराब बनाइदिन्छन् ।

स्वास्थ्य क्षेत्रमा न्युरोलोजिस्टका रुपमा काम गरिसकेका मन्त्री, डाक्टर ओलिभरले ती औषधिको सट्टामा केबल ‘प्यारा– सिटामोल’ मात्र खान सुझाव दिएका हुन् । तर उनको सो भनाइबारे कतिपय स्वास्थ्यविद्हरुले भने शंका व्यक्त गरेका छन् किनकी हालसम्म आइबुप्रोफेन र कोरोनाबीच कुनैपनि किसिमको सम्बन्ध वैज्ञानिक रुपमा प्रमाणित भएको छैन । आइबुप्रोफेन विशेषगरी ज्वरो ठीक गर्नका लागि सेवन गरिन्छ जुन कोरोनाको मुख्य लक्षण हो ।

वास्तवमा डाक्टर भेरानले यसै महिना ‘ल्यान्सेन्ट’ मा प्रकाशित एक चेतावनीपूर्ण पत्रलाई आधार मानेर यस्तो भनेको हुन सक्ने बताइएको छ । सो पत्रमा केही निश्चित औषधिहरुले हाम्रो ‘सेल्स’ को सतहमा हुने ‘एसीइ२ रिसेप्टर’ को सङ्ख्या बढाइदिने गरेको लेखिएको छ । र नोभल कोरोना भाइरसले तिनै रिसेप्टरको प्रयोग गरि हाम्रो सेललाई संक्रमित गराउन सक्छ । यसैकारण ती औषधि सेवन गर्ने बिरामीहरु भाइरस विरुद्ध संवेदनशील हुन सक्छन् जसमा उल्ल्ेख गरिएका औषधिमध्ये आइबुप्रोफेन पनि एक हो ।

तर यो अनुसन्धानलाई पुष्टि गर्ने डाटा भने उपलब्ध नभएको डाक्टर मिशेल बेरी बताउँछन् जो ‘स्ट्यानफोर्ड युनिभर्सिटी’ मा ‘इनोभेसन इन ग्लोबल हेल्थ’ का निर्देशक हुन् । यस्तोमा प्रमाण फेला नपरेसम्म यस किसिमको ‘हेल्थ गाइडलाइन्स’ जारी गराउनुपर्ने कुनै कारण नभएको उनको भनाइ छ । तरपनि अर्कोतर्फ तिनै औषधिको दिर्गकालीन प्रयोगले केही बिरामीको मृगौलामा क्षति पुर्याउने खतरा रहेको कुरा भने पुष्टि भएको छ । यसैगरी मान्छेले ज्वरो घटाउन त्यस किसिमका औषधि सेवन गर्दा ज्वरो घटेपनि तिनको शरीर लामो समयसम्म संक्रमक रहिरहन्छ र अरु मान्छेलाई सर्ने सम्भावना बढ्न जान्छ ।

संक्रमक रोगहरु सम्बन्धी विज्ञ डाक्टर पल अफिटका अनुसार हाम्रो शरीरको तापमान उच्च हुँदा प्रतिरोघात्मक प्रणालीले अझ राम्ररी काम गरिरहेको हुन्छ जसकारण भाइरस र ब्याक्टेरियाहरु प्रभावकारी रुपमा नष्ट हुन सक्छन् । तर शरीरको तापमान प्रत्येक १ डिग्रीले बढ्दा हाम्रो मेटाबोलिक स्तर १२ प्रतिशतले तेज हुने हुँदा शरीरले अनावश्यक रुपमा तापमान वृद्धि गराउँदैन । यसकारण कतिपय अवस्थामा ज्वरोले रोगसँग लड्नमा मद्दत पनि पुर्याइरहेको हुन्छ । तर बालबालिका, गर्भवती महिला र मुटु सम्बन्धी समस्या भएका मानिसहरुका लागि भने उच्च तापमान राम्रो होइन । – द न्युयोर्क टाइम्स

ताजा अपडेट

खोजी गर्नुहोस