भारतमा कोरोना संक्रमण भयावह बन्दै, एकै दिन ४२ सयको मृत्यु !

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७८ बैशाख २९, बुधबार (४ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

बैशाख २९, काठमाण्डौ । भारतमा कोरोनाभाइरस संक्रमितको संख्या चार लाखभन्दा तलै रहे पनि मृत्यु हुनेको संख्या बढ्दै गएको छ । एकै दिनमा चार हजार दुई सय जनाको मृत्यु भएको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा तीन लाख ४८ हजार पाँच सय २९ जनामा कोरोना संक्रमण देखिएको छ । यसअघि दैनिक थपिने संक्रमितको संख्या चार लाख नाघेको थियो् ।

योसँगै भारतमा सक्रिय संक्रमितको संख्या ३७ लाख नौ हजार पाँच सय ५७ पुगेको छ । त्यस्तै, अहिलेसम्म दुई करोड ३३ लाख ४० हजार चार सय ५६ जनामा कोरोना संक्रमण भइसकेको छ । पछिल्लो तीन दिनयता दैनिक थपिने संक्रमितको संख्या चार लाखभन्दा तल झरेको छ ।

तर, उपचार नपाउँदा र अक्सिजनको अभाव हुँदा मृत्यु हुनेको संख्या भने बढ्दै गएको छ। पछिल्लो २४ घण्टामा चार हजार दुई सय पाँच जनाले ज्यान गुमाएका छन् । यो एकै दिन ज्यान गुमाउनेको संख्या अहिलेसम्मकै सबैभन्दा बढी हो । यसअघि शुक्रबार सबैभन्दा बढी चार हजार एक सय ८७ जनाको मृत्यु भएको थियो । योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई लाख ५४ हजार दुई सय २५ पुगेको छ। यो अमेरिका र ब्राजिलपछि तेस्रो हो । अमेरिकामा पाँच लाख ९६ हजार र ब्राजिलमा चार लाख २५ हजारले ज्यान गुमाएका छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस