जेठ २९, काठमाडौं । ज्यान मार्ने मुद्दामा आफ्तफ अलालमलाई उच्च अदालत जनकपुर वीरगञ्ज इजलसबाट सफाइ दिने न्यायाधीश खुसीप्रसाद थारुलाई मोसो दल्ने तीन जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी किशोर लम्सालका अनुसार पक्राउ पर्नेमा गर्भु महतो, पदमबहादुर मगर र अविनाश भन्ने किशोर कुमार छन् । बिहीबार दिउँसो करिब ४ बजेतिर वीरगन्जमा इजलास बसिरहेको समयमा थारुमाथि उनीहरूले मोसो प्रहार गरेका थिए । उनीहरूले नेकपा बहुमत पार्टी जिन्दावाद, जनताको कर खाएर जनताविरुद्ध फैसला गर्न पाइँदैन भन्दै मोसो प्रहार गरेका थिए ।
जेठ १४ गते न्यायाधीश थारु र अर्का न्यायाधीश अर्जुन महर्जनको इजलासले रौतहट जिल्ला अदालतको फैसला उल्टाउँदै आलमलाई सफाइ दिएको थियो । रौतहट जिल्ला अदालतका तत्कालीन न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान कसुरमा उनलाई दोषी ठहर गरेको थियो ।
संविधान सभा निर्वाचनताका २०६४ चैत २७ गते रौतहटको साविक राजपुर फरहदवा–४ मा रहेको कांग्रेस उम्मेदवार मोहम्मद अफताब आलमको घरमा बम विस्फोट भएको थियो । विष्फोटमा परी घाइते भएकालाई इट्टा भट्टामा लगेर जलाइएको दाबी गरिएको छ ।