जेठ २९, सर्लाही । चक्रघट्टा गाउँपालिकाका तत्कालीन अध्यक्ष विक्रम यादवसहित १० जनाविरुद्ध भ्रष्टाचारको मुद्धा दायर भएको छ । सौय बत्ती जडानमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विषेश अदालत काठमाडौंमा मुद्धा दायर गरेको हो ।
उनहिरुविरुद्ध गाउँपालिकाबाट सौर्य बत्ती जडान कार्यक्रमको लागि छुट्टयाइएको बजेटमा अनियमितता भएको पाइएकोले मुद्धा दायर गरिएको अख्तियारले जनाएको छ । सौर्य बत्ती जडान गर्ने योजनामा विनियोजन भएको बजेट भन्दा बढि लागत अनुमान स्वीकृत गरी गराई बोलपत्र गरेको पाइएको थियो ।
तत्कालिन अध्यक्ष यादवसँगै तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लालबाबुप्रसाद साह, लेखा अधिकृत शिवशंकर प्रसाद कुशवाहा, सहायक पाँचौँ (लेखापाल) सञ्जयकुमार ठाकुर, जिन्सी शाखा प्रमुख रामकैलास राय यादव, सब–इन्जिनियरहरू सन्तोष राय, राजु रायविरुद्ध आरोपपत्र दायर गरिएको अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए ।
उनका अनुसार स्काई राइज कन्सर्न मलंगवा तथा कम्पनीका प्रोप्राइटर जयप्रकाश यादव, एस.के.स्टोर्स र त्यस कम्पनीका प्रोप्राइटर रञ्जुकुमारी शाह र जियो टेक्निकल एण्ड इन्फ्रास्ट्रक्चर सोलुसन नेपाल र प्रोप्राइटर संगीताकुमारी विरुद्ध पनि आरोपपत्र दायर गरिएको छ ।
उनीहरु सबैलाई जनही २ करोड ४९ लाख ४० हजार १ सय १० बिगो माग दावी गरिएको छ ।