जेठ ३०, काठमाढौं । काठमाडौंको तीनकुने घटना मुद्दामा जिल्ला अदालत काठमाडौँले दुर्गा प्रसाईंसहित सात जनालाई पुर्पक्षका लागि थुनामै राख्न आदेश दिएको छ । अन्य ३२ जनालाई भने धरौटीमा रिहा गर्न आदेश गरेको छ ।
न्यायाधीश ध्रुवराज कार्कीको इजलासले बिहीबार प्रसाईसहित सात जनालाई थुनामा पठाउने आदेश दिएको हो । अदालतको आदेशअनुसार उनीहरु यस मुद्दाको किनारा नलाग्दासम्म थुनामै बस्नुपर्नेछ । यद्यपि जिल्ला अदालतको आदेश चित्त नबुझे उच्च अदालत जाने कानुनी बाटो भने खुला छ ।
जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाइएकाहरुमा आन्दोलनका मुख्य कमाण्डर प्रसाईंसहित सरोज गौतम, गोकर्ण शाही, दण्डपाणी रेग्मी, सुशिल बराल, केशव बस्नेत, कुमार तामाङलाई पुर्पक्षमा थुनामा राख्ने भनेको छ ।
त्यस्तै तीनकुने घटनामा राप्रपाका सांसद डाक्टर धवल शमशेर राणा र वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई भने अदालतमा उपस्थित नै नभएको भन्दै फरार प्रतिवादीको रुपमा राखिएको छ। उनीहरुलाई फरार प्रतिवादीको रुपमा पक्राउ पूर्जी जारी हुने भएको छ ।
यस्तै दुर्गा प्रसाईँ समर्थक युवा समूह एटीएफमा आबद्ध हरिहर चौलागाईँलाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश भएको छ । सन्तोष राजावादी भनिने सन्तोष कुमार सिलवाललाई १ लाख र हेमराज थारु ‘भीम’लाई १ लाख धरौटीमा रिहा गर्न आदेश भएको छ ।
यस्तै गोपाल मल्ल ठकुरीलाई २० हजार, पशुपति खड्कालाई १० हजार, विष्णु पराजुलीलाई १० हजार, पुष्कर खतिवडालाई २० हजार, मुनेन्द्र राजभण्डारीलाई १० हजार, कुमार बस्नेतलाई २० हजार, अनिलकुमार थापालाई १० हजार र तारानाथ बोहरालाई १० हजार रुपैयाँ धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।
अदालतले भानुभक्त पौडेलसँग १० हजार, विष्णुजंग बस्नेतसँग १ लाख, देवी प्रसाद सङ्ग्रौलासँग १० हजार, प्रेम थापा मगरसँग १० हजार, ओम प्रकाश लुइँटेलसँग १० हजार, तेजेन्द्र रायमाझीसँग १० हजार, मनबहादुर कालासँग २० हजार, निराजन कुमार गिरीसँग ५० हजार र प्रेधबहादुर श्रेष्ठसँग ५० हजार धरौटी लिएर रिहा गर्न आदेश गरेको छ ।
रमेश राईलाई २० हजार, दिवश बोगटी क्षेत्रीलाई १० हजार, दिलकुमार श्रेष्ठलाई १० हजार, कमलकुमार विष्टलाई २० हजार, लोकबहादुर बस्नेतलाई २० हजार, दिनेश खड्कालाई ५० हजार , दानबहादुर न्यौपानेलाई १० हजार र उमेश तामाङलाई १० हजार धरौटीमा छाड्न आदेश गरिएको छ ।
अमित शाह ५० हजार, सुमन कार्की १० हजार, जितबहादुर श्रेष्ठ ५० हजार र मनोजकुमार सापकोटासँग १० हजार धरौटी माग गरिएको छ ।
चैत १५ गतेको राजावादी प्रदर्शन हिंसात्मक बन्दा दुई जनाको मृत्यु भएको थियो । निजी तथा सार्वजनिक घर तथा सम्पत्ति तोडफोड, आगजनी र लुटपाट पनि भएको थियो । घटनामा गत जेठ ११ मा सरकारी वकिल कार्यालयले ६१ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।
प्रसाईँसहित आठ जनाविरुद्ध राज्यद्रोह, आपराधिक उपद्रव, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र संगठित अपराधको अभियोगमा मुद्दा चलाएको थियो । उक्त मुद्दामा काठमाडौं जिल्ला अदालतमा प्रतिवादीहरूको बयान सकेर २० जेठदेखि थुनछेक बहस सुरु भएको थियो । बहस सकिएसँगै विहिबार मध्यरातमा फैसला आएको हो ।