भाद्र धादिङ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल र नेपालीको सांस्कृति पहिचान बनिसकेको नौमती पञ्चैबाजाको संरक्षण गर्दै आएकाले दमाई तथा परियार समुदायलाई सरकारले उच्च सम्मान गर्नु पर्ने बताएका छन् ।
जिल्लामै पहिलो पटक आयोजना गरिएको नौमती पञ्चैबाजा लोक प्रतियोगिता कार्यक्रमको प्रमुख अतिथिका रुपमा रहेका नेता खनालले उद्घाटन समारोहमा दमाहा बजाएर सहभागीहरुलाई उत्साह समेत दिएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनालले नौमती पञ्चैबाजा सांस्कृति उत्पादनको सम्मानित साधन समेत रहेको बताएका हुन् ।
विभिन्न कालखण्डमा राज्यद्वारा नै विभेद गरिएको सन्दर्भ कोट्याउँदै वरिष्ठ नेता खनालले दमाई, दर्जी वा परियारका नाउँले चिनिएका श्रमिक समुदाय अन्ततः खस–आर्य जातिकै अभिन्न अंगकै रुपमा विकास भएको पनि बताए ।
उनले भने, ‘तपाईहरु खस आर्य समुदायकै अभिन्न अंग हो । समाज विकास र श्रम विभाजले विभाजन गरेको भएपनि अब लोकतान्त्रिक गणतन्त्र आएको छ । श्रम गर्नेलाई सम्मान गर्ने र नौमती पञ्चैबाजालाई राष्ट्रिय तहबाट संरक्षण गर्ने दिन आएको छ ।’
दमाई तथा परियार जातिको ऐतिहासिक विकास कोट्याउँदै आफै पनि साहित्यिक व्यक्तित्वका रुपमा स्थापित नेता खनालले सामन्ती सत्ताले थोपरेका जातीय छुवाछूत तथा विभेदको अन्त्य गर्न राज्यले सो समुदायलाई विशेष सम्मान गर्नु पर्ने पनि बताएका हुन् ।
नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापना भइसके पछि कानुनी रुपबाटै छुवाछूत अन्त्य भइसकेको बताउँदै नेता खनालले कला र संस्कृतिको संरक्षणमा मात्रै नगरेर दमाई समुदायले नौमती पञ्चैबाजालाई श्रम गरेर जीवन यापन गर्ने जीविकाको साधन समेत बनाएर मुलुकलाई संस्कृतिको संरक्षण गर्दा समुदाय नै बाँच्न सक्ने विधि समेत जोगाएर राज्यलाई नै पाठ सिकाएको उनको भनाइ छ ।
उनले भने, ‘दर्जी समाजले नौमती पञ्चैबाजा संरक्षण नगरिदिएको भए राज्यले कसैलाई गुहारेर लोकबाजा संग्रहालयमा लगेर राख्ने थियो होला । तर, राज्यले आज खोजीगर्दा गाउँ गाउँका कुना कुनामा यो बाजालाई संरक्षण गरेर तपाईहरुले राख्नुभएको छ । यति मात्र हैन, जनसमुदायको खुसी, हर्ष बढाइँ र सुखद पक्षहरुमा जोडिएर सांस्कृतिको संरक्षण र लोकबाजालाई जीवन दिनु भएको छ ।’
नेता खनालले नौमती पञ्चैबाजा धादिङ मात्र नभई देशका कुना कुनामा रहेको दर्जी समुदायले संरक्षण गरेकोमा बधाई समेत दिएका छन् । यसखाले कार्यक्रम देशैभर गर्नु पर्ने र उत्थान गर्नु पर्ने सुझाव नेता खनालको रहेको छ ।कार्यक्रमा अतिथिका रुपमा जिल्लाका उच्च नेताहरु सहभागी थिए ।
प्रतिनिधि सभा सदस्य तथा नेकपा केन्द्रीय सदस्य खेमप्रसाद लोहनी, प्रतिनिधि सभा सदस्य तथा नेकपा धादिङका अध्यक्ष भूमि त्रिपाठी, प्रदेश नम्बर–३ का आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमरकट्टेल, पूर्व सांसद गुरुप्रसाद बुर्लाकोटी लगायत जिल्ला सुरक्षा प्रमुखहरु र दलित मुक्ति अभियानका अगुवाहरु उपस्थित थिए ।
दलित समाज नेपाल धादिङले आयोजना गरेको उक्त प्रतियोगितामा विभिन्न समूहले भाग लिएको समाजका कोषाध्यक्ष समेत रहेका उक्त कार्यक्रमका संयोजक टीकाराम नेपालीले जानकारी दिए । उक्त कार्यक्रम जिल्ला सदरमुकाम धादिङबेसीमा शनिबार आयोजना भएको थियो । कार्यक्रम दलित, दमाई तथा परियार समाजमा विभिन्न योगदान पुराउने दलित मुक्तिकर्मीहरुलाई समेत सम्मान गरिएको थियो ।
सम्मानित हुनेहरुमा दलित मुक्ति तथा समाजसेवी बेगबहादुर सुनार, दीपक विश्वकर्मा, पूर्णबहादुर नेपाली दमाई, गोपाल विश्वकर्मा, भोजबहादुर परियार, यताबहादुर सुनार, गोपी सुनार, राजन बराइली लगायतलाई सम्मान गरिएको थियो ।
नौमती पञ्चैबाजा राष्ट्रिय बाजाका रुपमा स्थापित छ । नेपाली लोक साहित्य, कला र जीवन संस्कृतिसँग अभिन्न अंगका रुपमा विपकास भएका यी बाजाहरु जन्म उत्सवदेखि बिबाह, ब्रतबन्ध र विभिन्न समारोह उत्सव र जात्राहरुमा बजाइने गरिन्छ ।
नेपाली समाजमा यो बाजालाई शुभ साइत रुपमा समेत लिइने गरिन्छ ।
धादिङ जिल्लामै पहिलो पटक आयोजना गरिएको नौमति पञ्चैबाजा लोक प्रतियोगितामा पहिलो, दोस्रो तथा तेस्रोलाई पुरस्कार समेत दिइएको थियो ।
पहिलो हुने खनियावास पञ्चैबाजा समूहलाई ३० हजार रुपियाँ सहित कदर पत्रले सम्मान गरिएको थियो । दलित समाज नेपालको कोषाध्यक्ष नेपालीले दिएको जानकारी अनुसार दोस्रो हुनेमा त्रिपुरासुन्दरी पञ्चैबाजा समूह र तेस्रो हुनेमा नमस्ते नेपाल पञ्चैबाजा समूह रहेका छन् ।
सहभागी सबैलाई प्रोत्साहन स्वरुप २ हजार रुपियाँ सहित सम्मानपत्र दिइएको उनले बताए । बसन्त परियारको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम सञ्चालन भने नवराज लम्सालले गरेका थिए ।