भाद्र २०, काठमाडौं । चीनका विदेशमन्त्री तथा स्टेट काउन्सिलर नेपालको तीनदिने भ्रमणमा आइतबार काठमाडौँ आउने भएका छन्।
परराष्ट्रमन्त्रीले शुक्रबार विज्ञप्ति जारी गरी चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणबारे औपचारिक जानकारी गराएको हो।
यद्यपि विदेशमन्त्री वाङ नेपाल आउनेसम्बन्धी अनौपचारिक सूचना यसअघि नै सार्वजनिक भइसकेको थियो।
परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निमन्त्रणामा विदेशमन्त्री वाङ नेपाल आउन लागेका हुन्।
भ्रमणका क्रममा विदेशमन्त्री वाङले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्नेछन्।
भ्रमणको दोस्रो दिन सोमबार उनले नेपाली समकक्षीको नेतृत्वमा रहेको टोलीसँग औपचारिक वार्ता गर्नेछन्। मन्त्री ज्ञवालीले विदेशमन्त्री वाङको सम्मानमा रात्रिभोजको आयोजना गरेकोसमेत परराष्ट्रको विज्ञप्तिमा उल्लेख छ।