भाद्र २२, काठमाडौं । चीनका विदेशमन्त्री वाङ यी नेपालको तीनदिने औपचारिक भ्रमणमा आज नेपाल आउँदैछन्। वाङ यी चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणको तयारीका लागि आउन लागेका हुन्।
विदेशमन्त्री वाङ यीले आज नै राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको छ। त्यस्तै उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि शिष्टाचार भेट हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले जानकारी दिए।
चार वर्षको अन्तरालमा नेपालमा चीनका उच्चस्तरीय नेताको भ्रमण हुन लागेकाले त्यसको सम्पूर्ण तयारीमा उच्चस्तरीय सरकारी निकाय तथा परराष्ट्र मन्त्रालय जुटेको छ ।
“हाम्रोतर्फबाट हुने सबै तयारी पूरा भएको छ”, मन्त्रालयस्थित द्विपक्षीय सम्बन्ध हेर्नुहुने सहसचिव कालीप्रसाद पोखरेलले भने, “नेपाल–चीन सम्बन्धलाई नयाँ आयाम दिन यो भ्रमण सफल हुने आशा राखेका छौँ ।”
उनका अनुसार सोमबार हुने परराष्ट्रमन्त्रीस्तरीय द्विपक्षीय प्रतिनिधिमण्डलको वार्तामा नेपाल र चीनसँग जोडिएका समग्र विषयको एजेन्डा बनाइने छ। विगतमा दुई देशबीचका सम्झौताको समिक्षा र दुई देशबीचको सम्बन्धलाई थप बलियो बारे छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालको आर्थिक विकाससँग चीनसँगको साझेदारीमा सोमबारको द्विपक्षीय छलफल केन्द्रित हुने प्रतिक्रिया दिए।