भाद्र २२, गल्छी । गल्छी गाउँपालिकामा उत्कृष्ट बिद्यालय तथा बिद्यार्थीहरुलाई सम्मान तथा पुरस्कार बितरण कार्यक्रम गरिएको छ । हामी सबैको प्रण, गुणस्तरीय शिक्षा प्रणालीमा सवलीकरण भन्ने मूल नारा सहित ४० औं राष्ट्रिय शिक्षा दिवस २०७६ तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा उक्त कार्यक्रम गरिएको हो ।
गल्छी गाउँपालिकाका अध्यक्ष तथा गाउँ शिक्षा समितिका अध्यक्ष कृष्णहरि श्रेष्ठको अध्यक्षता तथा पुर्व शिक्षा मन्त्री गंगालाल तुलाधारको प्रमूख आतिथ्यतामा भएको कार्यक्रममा गल्छी गाउँपालिका अन्तर्गत सामुदायिक र संस्थागत विद्यालयहरुबाट उत्कृष्ट अंक हासिल गरि कक्षा आठ र एस.ई.ई परिक्षा-२०७५ उत्तीर्ण बिद्यार्थी र शिक्षकहरुलाई पुरस्कार सहित सम्मान गरिएको गल्छि गाउँपालिकाले जनाएको छ ।
गल्छी गाउँपालिकाका शिक्षा शाखाको संयोजनमा सम्पन्न उक्त कार्यक्रममा बिभिन्न बिद्यालयका छात्र छात्राहरुबाट सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको छ ।