असोज ८, काठमाडौं । जापानको भ्रमणमा रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन र जापानका मन्त्रीहरूबीच भेटवार्ता भएको छ ।
मन्त्री पुनले बुधबार जापानका संसदीय, परराष्ट्र उपमन्त्री नोरुहिरो नाकायामा, कृषि, वन तथा मत्स्यपालन राज्य मन्त्री योसिताका इतोसँग भेटवार्ता गरेका हुन् । भेटमा नेपाल–जापान सम्बन्ध र सहयोगका विषयमा छलफल भएको छ ।
ऊर्जा र जलविद्युत तगाएतका क्षेत्रमा लगानी आकर्षित गराउने उद्देश्यका साथ चार दिने जापान भ्रमणमा रहेका मन्त्री पुनले भेटवार्तामा दुई देशको मैत्रीपूर्ण सम्बन्ध, जापानले नेपालका विभिन्न क्षेत्रमा गरेको सहयोग र लगानीको खुलेर प्रशंसा गरेका छन् । उनले नेपालमा जापानी प्रविधि र लगानी भित्र्याउन समेत आह्वान गरेका छन् ।
भेटमा मन्त्री पुनले ४ सय १७ मेगावाट क्षमताको नलगाड जलविद्युत आयोजनामा समेत लगानीको लागी आग्रह गरेको जानकारी दिए ।
जापानी उपमन्त्री नोरुहिरो नाकायामाले नेपालमा गरिने लगानी र सहयोगमा बढोत्तरी गरिने प्रतिबद्धता जनाएका छन् । जापानका सम्राटको राज्यभिषेक कार्यक्रममा नेपालबाट राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुने थाहा पाउँदा खुशी लागेको पनि उनले बताए ।
मन्त्री पुनले बिहीबार जाइकाका कार्यकारी उपाध्यक्षसँग नलसिंहगाड जलविद्युत आयोजनालाई अघि बढाउने विषयमा द्विपक्षीय छलफल गर्ने कार्यक्रम छ ।