मंसिर १६, काठमाडौं । उपनिर्वाचनको मतपरिणाम सार्वजनिक भएपनि नेपाली कांग्रेसले पहिलो पटक पत्रकार सम्मलेन गरेको छ ।
सोमबार कांग्रेसले पत्रकार सम्मेलनमा उपचुनावले सरकारप्रति जनताको असन्तुष्टि बढेको पुष्टि गरेको बताएको छ । साथै चुनावी परिणामले नेकपालाई ‘आजै सच्चिने कि भोलि सक्किने’ भन्ने सन्देश दिएको दाबी कांग्रेसले गरेको छ ।
५२ पदका लागि भएको उपचुनावमा कांग्रेसले ३० जितेको छ भने कांग्रेसले १३ । प्रतिनिधिसभा सदस्यतर्फ कास्की २ र प्रदेशसभातर्फ बाग्लुङ २ ख र दाङ ३ ख मा आफ्नो बर्चश्व कायमै राखेको नेकपाले प्रदेशसभातर्फ भक्तपुर १ क र स्थानीय तहतर्फ धरान उपमहानगरपालिकाको प्रमुख गुमाएको छ ।
दुई गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र केही वडाध्यक्षमा हात पारेको जितलाई देखाएर सरकारको पक्षमा जनमत जस्ताको तस्तै कायम छ भन्ने आत्मसन्तोष गर्न सुविधा सरकार र नेकपासँग रहेको कांग्रेसले बताएको छ ।
तर केही सन्देशमूलक वडा, एक उपमहानगरपालिका नेतृत्व अनि एक प्रदेश क्षेत्रको परिणामले नेकपालाई ‘आजै सच्चिने कि भोलि सक्किने’ सन्देश दिएको छ’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने । सक्किने भन्नुको अर्थ भोलिको परिणाम झनै प्रतिकूल आउनेतर्फ गरिएको संकेत भएको उनले बताए ।
कास्की र दाङमा राजनीतिक प्रभावभन्दा सहानुभूतिका मत संयोजन भएको भन्दै उनले बालुङसहित तीनै क्षेत्रमा मतान्तर घटाएको उल्लेख गरे ।
कांग्रेसले एक गाउँपालिका अध्यक्ष एक उपाध्यक्ष र केही वडाध्यक्ष गुमाएको भन्दै उनले यसको समीक्षा हुने बताए ।