फाल्गुण १३, काठमाण्डौ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेलले संविधान संशोधन गर्नका लागि आफ्नै पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कार्यदल गठन गर्ने पहल गरेकोप्रति तीव्र असन्तृष्टि व्यक्त गरेका छन् ।
सत्तारुढ नेकपाका सचिवालय सदस्य समेत रहेका पोखरेलले सो कदमलाई जुवा खेल्नु जत्तिकै अनुचित कामको रुपमा व्याख्या गरेका छन् । २०७४ सालमा भएको आमनिर्वाचनमा बर्दियाबाट चुनाव हारेका नेकपा नेता बामदेव गौतमको इच्छाअनुसार राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन गर्नका लागि सो कार्यदल गठन गर्न लागिएको बताइएको छ ।
नेकपा नेताहरुले गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्न प्रस्ताव गर्दा गौतमले राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने व्यवस्था गर्नेभए मात्र आफू सदस्य बन्ने बताएका थिए ।