वैशाख ११, काठमाण्डौ । राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टीबीच एकताका लागि सहमति पत्रमा हस्ताक्षर भएको छ । बुधबार मध्यराति दुवै पार्टीले एकीकरण गर्ने सहमति गरेका हुन् । एकीकृत पार्टीको नाम जनता समाजवादी पार्टी रहने सहमति जुटेको छ । एकताको सहमतिपत्रमा राजपाका तर्फबाट अध्यक्ष मण्डलका सदस्यहरु महन्थ ठाकुर, राजेन्द्र महतो र शरतसिंह भण्डारी तथा समाजवादीका तर्फबाट संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई, केन्द्रीय अध्यक्ष उपेन्द्र यादव, अशोक राई र राजेन्द्र श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
एकताको सहमतिपत्रमा पार्टी एकीकरण समानताको आधारमा गरिने र समाजवादी पार्टीले प्रयोग गर्दै आएको आयातकार आकारमा हरियो रंगको बीचमा तारा हुने सहमति जुटेको छ । यस्तै, पार्टीको चुनाव छाता रहेन टुंगो लागेको छ । सरकारले दल फुटाउन सहज हुनेगरी अध्यादेश ल्याएको तीन दिनमै दुई पार्टी एक बनेका हुन् । सरकारले राजपा र समाजवादी पार्टी फुटाउनलाई अध्यादेश ल्याएको विश्लेषण भइरहेका बेला मधेस राजनीतिका दुई शक्ति केन्द्र एक बनेका हुन् ।
विगतको मधेस राजनीति
मधेसीहरुको अधिकारका लागि आवाज उठेको र त्यसका लागि सुरु भएको विद्रहको इतिहास निकै लामो छ । यसको विगत हेर्न २००३ साल तिरै फर्कनुपर्छ । सोही बेलादेखि नै मधेसीहरुको अधिकारका लागि आवज उठ्न थालेको छ । तत्कालीन राणा प्रधानमन्त्री पद्मशम्शेरलाई नरेन्द्र मणिलाई मधेसीको अधिकारका लागि लिखत प्रस्ताव बुझाएका थिए । त्यो नै मधेसीले अधिकारका लागि आवज उठाएको पहिलो कदम हो ।
२००७ सालमा नेपाली कांग्रेसले गरेको क्रान्तिका बेला समेत मधेस आन्दोलित बनेको थियो। सन् १९५१ मा कांग्रेस भित्रै मधेसीको हक अधिकारका लागि विद्रोह भएको थियो । त्यसको नेतृत्व बलदेव दास यादव र तुलानन्द झाले नेतृत्व गरे । फलस्वरुप तराई कांग्रेस गठन भयो ।
तर, लामोसमयको पञ्चायती व्यवस्थामा राष्ट्रिय राजनीतिसँगै मधेसको राजनीति समेत मुर्झायो । २०४० सालमा भने गजेन्द्रनारायण सिंह लगायतले सद्भावना परिषद्को गठन गरेका थिए । २०४७ सालमा सिंहले पहिलो पटक संघीय राज्य प्रणालीको माग अघि सारेका थिए । तर, त्यसको डेढ दशकसम्म कसैले पनि मधेसीको अधिकारका लागि बोलेनन् । ०४७ पछि एकैपटक २०६३ सालमा मधेसको आन्दोलनको विद्रोह सुरु भएको थियो ।
२०६३ माघ १ गतेका दिन अन्तरिम संविधान जारी भयो । त्यसको भोलिपल्टै गैर सरकारी संस्थाका रुपमा मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसहितका तीन जना नेताले संविधानको प्रतिलिपि जलाए । माघ ३ गतेदेखि मधेसमा आन्दोलन चर्कियो । १९ दिनसम्म चलेको आन्दोलन माघ २४ गतेका सकियो । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले आन्दोलनरत पक्षसँग सहमति गरेका थिए ।
त्यसलगत्तै महन्थ ठाकुरको नेतृत्वमा तराई मधेस लोकतान्त्रिक पार्टी, राजेन्द्र महतो नेतृत्वको सद्भावना र उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरमले २०६४ फागुन १ गते दोस्रो मधेस आन्दोलनको घोषणा गरे । त्यो आन्दोलन १६ दिनसम्म चलेको थियो। त्यसयताका ७ वर्ष मधेश केन्द्रित दल टुटफुटमै रमाए । खासगरी सत्तास्वार्थका कारण उनीहरु टुक्राटुक्रामा विभाजित बने । ०७२ सालसम्म आइपुग्दा मधेस केन्द्रीत दलको संख्या ८ पुगिसकेको थियो ।
तीनै आठ दलले २०७२ साउन ४ गते तेस्रो चरणको आन्दोलन घोषणा गरे । संविधानसँग असहमति जनाउँदै उनीहरुले गरेको आन्दोलनले मुलुकले ६ महिना नाकाबान्दी झेल्न पर्यो । २०७४ वैशाख ७ गते आवद्ध ६ वटा दल मिलेर राष्ट्रिय जनता पार्टी राजपा नेपाल गठन भएको थियो ।
०७६ वैशाख २३ गते उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी र डा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति मिलेर समाजवादी पार्टी गठन भएको थियो । मधेस आन्दोन उत्कर्षमा पुगेको १४ वर्षपछि पुनः सबै मधेस केन्द्रीत दलबीच एकता भएको छ ।