हाजिरी जमानीमा रहेका रवीन्द्र मिश्र ३ लाख धरौटीमा रिहा

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ अषाढ ३, मंगलबार (५ घण्टा अघि)
  • ४४ पटक पढिएको
हाजिरी जमानीमा रहेका रवीन्द्र मिश्र ३ लाख धरौटीमा रिहा

असार ३, काठमाडौं । काठमाडौं जिल्ला अदालतले तीनकुने आन्दोलनका आरोपी राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसँग ३ लाख धरौटी माग गरेको छ ।

जिल्ला न्यायाधीश तारादेवी महर्जनको इजलासले ३ लाख धरौटी लिएर रिहा गर्न आदेश दिएको अदालतका सूचना अधिकारी दिपक कुमार श्रेष्ठले जानकारी दिए । अदालतको आदेशसँगै मिश्र आजै धरौटी बुझाएर रिहा हुने छन् ।

मिश्र आन्दोलन भएको दिन गत वर्ष चैत १५ गते नै पक्राउ परेका थिए । पक्राउपछि काठमाडौं जिल्ला अदालतबाट लगातार म्याद थप हुँदै थुनामा राखिएका मिश्र श्रीमती शारिका कार्कीको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चको आदेशबाट जेठ २ गते हाजीरी जमानीमा रिहा भएका थिए । रिहापछि उनी प्रहरीमा हाजिर भएका थिएनन् ।

गत चैत १५ गते राजावादीले आयोजना गरेको प्रदर्शन भड्किएर हिंसात्मक बनेको थियो । उक्त घटनामा २ जनाको मृत्यु हुनुका साथै सार्वजनिक सम्पत्तिमा आगजनी भएको थियो । उक्त घटनामा मिश्रले उत्तेजक अभिव्यक्ति दिएका थिए ।

मिश्रविरुद्ध यही जेठ ११ गते राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, सङ्गठित अपराध र एकीकृत कसुरमा सजाय हुन माग दाबी गरी मुद्दा दर्ता भएको थियो ।

सोही घटनाका आरोपी राप्रपाका महामन्त्री शवलशम्शेर राणा सोमबार ३ लाख धरौटीमा छुटेका थिए । धरौटीमा रिहा भएसँगै सांसद राणा आज संसद् पनि उपस्थित भइसकेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस