टी–२० शृंखलामा नेपालको पहिलो जित

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८२ अषाढ ३, मंगलबार (३ घण्टा अघि)
  • ४८ पटक पढिएको
टी–२० शृंखलामा नेपालको पहिलो जित

असार ३, काठमाडौं । त्रिकोणात्मक टि–२० अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत नेपालले घरेलु टोली स्कटल्याण्डलाई २ विकेटले हराउँदै पहिलो जित निकालेको छ ।

स्कटल्याण्डको टिटवुड, ग्लासगोमा मंगलबार भएको खेलमा स्कटल्याण्डले दिएको ९८ रनको सामान्य लक्ष्य नेपालले १ बल अगावै ८ विकेटको क्षतिमा भेट्टायो । नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ३० रन बनाए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले १९.४ ओभरमा सबै विकेट गुमाएर ९७ रन बनायो । उसका लागि माइकल लिस्कले सर्वाधिक ४६ रन बनाए । यस्तै कप्तान म्याथु क्रोस १५ रन, ब्राण्डोन म्याक मुलेन १० रन बनाए । अन्य आठ ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन् ।

स्कटल्यान्डलाई सस्तैमा रोक्न सन्दीप लामिछानेले चार विकेट लिए । सन्दीपले आफ्नो स्पेलमा १ मेडन राख्दै मात्र ११ रन दिएर चार विकेट आफ्नो नाममा गरेका हुन् । करण केसी र दिपेन्द्र सिंह ऐरीले समान २ विकेट झारे । ललित राजवंशीले एक विकेट आफ्नो नाममा गरे ।

नेपालको यो दोस्रो खेल हो । हिजो भएको पहिलो खेलमा नेदरल्यान्ड्ससँग नेपाल तेस्रो सुपरओभरमा पराजित भएको थियो । यसअघि स्कटल्यान्डले सिरिजको उद्घाटन खेलमा नेदरल्यान्ड्सलाई ३९ रनले हराएको थियो ।

यस जितसँगै नेपाल, स्कटल्याण्ड र नेदरल्यान्ड्स सबैको समान २–२ अंक भएको छ । रनरेटका आधारमा नेपाल दोस्रो स्थानमा उक्लिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस