असार ३, काठमाडौं । नेपालको घातक बलिङमा स्कटल्यान्ड ९७ रनमा अलआउट भएको छ । स्कटल्यान्डमा जारी टी–२० आई त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले ९८ रनको सामान्य लक्ष्य पाएको छ ।
स्कटल्यान्डको टिटवुडको ग्लासगोमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको घरेलु टोली स्कटल्यान्डले पावर प्लेमा नै ५ विकेट गुमायो । माइकल लिस्कले बनाएको ४६ रन नै स्कटल्यान्डका लागि सर्वाधिक रह्यो । उनले ४६ बलमा ४ चौका र १ छक्का प्रहार गरे ।
यस्तै कप्तान म्याथु क्रोस १५ रन, ब्राण्डोन म्याक मुलेन १० रन बनाए । अन्य आठ ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन् ।
स्कटल्यान्डलाई सस्तैमा रोक्न सन्दीप लामिछानेले चार विकेट लिए । सन्दीपले आफ्नो स्पेलमा १ मेडन राख्दै मात्र ११ रन दिएर चार विकेट आफ्नो नाममा गरेका हुन् । करण केसी र दिपेन्द्र सिंह ऐरीले समान २ विकेट झारे । ललित राजवंशीले एक विकेट आफ्नो नाममा गरे ।
नेपालले केहीबेरमा जवाफि ब्याटिङ गर्नेछ ।