ग्राहक ठग्ने बैङ्कलाई कारबाही गर्छु : गभर्नर पौडेल

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८२ अषाढ ३, मंगलबार (५ घण्टा अघि)
  • ५९ पटक पढिएको
ग्राहक ठग्ने बैङ्कलाई कारबाही गर्छु : गभर्नर पौडेल

असार ३, धनुषा । नेपाल राष्ट्र बैङ्कका गभर्नर डा. विश्वनाथ पौडेलले कुनै पनि बैंकले ग्राहकलाई समस्यामा पार्ने वा विभिन्न बहानामा ठगी गरेको पाइए तुरुन्त कारबाही गर्ने चेतावनी दिएका छन् ।

नेपाल राष्ट्र बैङ्क जनकपुर कार्यालयको आयोजनामा नेपाल उद्योग वाणिज्य महासङ्घ र बैङ्क तथा वित्तीय संस्थाका प्रतिनिधिसँगको छलफलमा आज उनले सर्वसाधारणको सम्पत्ति जोगाउने र बैङ्कको पैसा धेरै मानिससम्म पुर्‍याउनेमा आफ्नो ध्यान रहेको बताए ।

धनुषाका व्यापारीहरूले विगतमा बैङ्कहरूले धितो राखी ऋण लिएका ऋणीहरूलाई विभिन्न जटिल परिस्थिति उत्पन्न गरी धितो लिलाम गरेको गुनासो गरेपछि गभर्नर पौडेलले यस्तो चेतावनी दिए ।

सो छलफलमा व्यवसायीहरुले ऋण लिन आउने साना व्यापारी तथा किसानलाई बैङ्कले वास्ता नगर्ने गरेको गुनासो गरेका थिए । छलफलमा बैङ्कका प्रतिनिधिहरुले मधेश प्रदेशमा ऋण लिएर तिर्न नसक्नेको सङ्ख्या धेरै भएको जानकारी दिएका थिए ।

धनी र गरिब बीचको आर्थिक खाडल कम गर्नु आफ्नो प्रमुख प्राथमिकता भएको गभर्नर पौडेलको भनाइ छ ।

“मौद्रिक नीति वित्त नीतिको मातहतमा हुनुपर्छ । सुपरिवेक्षण क्षमता बढाएर अर्थतन्त्र चलाउनुपर्छ,” उनले भने, “त्यसैले कम नियम र ज्यादा सुपरिवेक्षणमै मेरो जोड छ ।”

बैङ्कको पैसा सीमित धनी व्यक्तिको हातमा केन्द्रित नभई साना व्यवसायी र सर्वसाधारणसम्म ऋणका रूपमा पुग्नुपर्ने गभर्नर पौडेलले विचार व्यक्त गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस