वैशाख १६, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आफूले नेताहरूले असहयोग नीति बनाए पनि पदबाट राजीनामा नदिने बताएका छन् । ‘सरकारले काम गर्न खोज्दा खोज्दै जहिल्यै पार्टीका केही नेताले असहयोग नीति लिए । अहिले मविरुद्ध घेराबन्दीको प्रयास भएको छ । तर म राजीनामा दिन्न’, आफू निकट सांसदसँग बालुवाटारमा ओलीले भने ।
सोमबार दिनभर आफूनिकट नेता परिचालन गरी वरिष्ठ नेता माधव नेपाल पक्षलाई फकाउने प्रयास गरेपनि सार्थक नभएपछि साँझ ओलीले आफू निकट सांसदहरूसँग छलफल गरेका हुन् । ‘मिलेर जान आफूले नेताहरूलाई प्रस्ताव गरेको छु । नेताहरूको प्रतिक्रिया कसरी आउँछ त्यसपछि नै आफूले थप रणनीति बनाउँछु’, सांसदसँग ओलीले भनेको छलफलमा सहभागी काठमाडौं ३ का सांसद कृष्णबहादुर राईले जानकारी दिए ।
‘म राजीनामा दिन्न। तपाईहरूले मलाई सहयोग गर्नुपर्यो’, ओलीलाई उदधृत गर्दै राईले भने । प्रधानमन्त्रीले आफूले मिल्न भने पनि दाहाल र नेपाल त्यो दिशामा अझै नदेखिएको भन्दै पार्टीमा भोलि जे सुकै अवस्था आइ लागे पनि सामना गर्ने गरी तयारी अवस्थामा रहन सांसदहरूलाई निर्देशन दिएका थिए ।
बालुवाटार भेलामा ओली निकट करिब दुई दर्जन भन्दा बढी सांसद उपस्थित थिए । पूर्व माओवादी धारका नेता तथा अहिलेका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट पनि भेलामा सहभागी थिए । उनले आफू प्रधानमन्त्री ओलीको पक्षमा रहेको र पार्टीका अन्य नेताले सरकारलाई सहयोग नगरिरहेको धारणा राखेको राईले जानकारी दिए ।
भेलाका सहभागी सांसदका अनुसार ओलीले सक्दा माधव नेपाललाई फकाउने र त्यसो गर्न नसके संसदीय दलमा बहुमत सांसद पुर्याएर आफूलाई हटाउन चाहने सम्भावित तयारीको चुनौति दिने रणनीति बनाएका छन् । प्रतिनिधि सभामा नेकपामा १७४ सांसद छन् । ओली पक्षका झण्डै ७५ जना सांसद खुलेको बुझाइ बालुवाटारको छ। संसदीय दलमा बहुमत पुर्याउन ओलीलाई थप ८८ जना सांसदले साथ दिनु पर्छ । ओली १० देखि १५ सांसद दाहाल र नेपाल पक्षबाट तान्न सकिने विश्वासमा छन् । दाहालसँग ५३ र नेपालसँग ४० देखि ४५ जना सांसद छन् ।