दार्चुलामा एकैदिन सशस्त्रको तीन सीमा सुरक्षा चौकी स्थापना

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ अषाढ १८, बिहिबार (४ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

असार १८,दार्चुला । दार्चुलाको नेपाल—भारत सीमावर्ती क्षेत्रमा एकै दिन सशस्त्र प्रहरीको तीनवटा सीमा सुरक्षा चौकी (बीओपी) थपिएका छन् । बिहीबार सशस्त्र प्रहरीका सुदूरपश्चिम प्रमुख वैद्यनाथ बाहिनीपति डिआइजी हरिशङ्कर बुढाथोकीले लेकम गाउँपालिका—३ लाली, मालिकार्जुन गाउँपालिका—७ जोलजिबी र व्यास गाउँपालिका—२ दुम्लिङमा स्थापना भएका बीओपीको उद्घाटन गरेका छन् ।

बुधबार बैतडीको पञ्चेश्वरमा सशस्त्र प्रहरीको बीओपी उद्घाटन गरेर दार्चुला आएका डिआइजी बुढाथोकीले बिहीबार तीन वटै बीओपीको उद्घाटन गरेको सशस्त्र प्रहरी बल नेपाल गुल्म नम्बर ५० हेडक्वार्टर दार्चुलाका डिएसपी डम्बरबहादुर विष्टले जानकारी दिए । डिआइजी बुढाथोकी जोलजिबी र लालीमा बीओपी स्थलमा पुगेका थिए भने दुम्लिङमा भिडियो कन्फ्रेन्समार्फत बीओपी उद्घाटन गरिएको डिएसपी विष्टले बताए ।

तीन वटै बीओपीमा २०र२० जना सुरक्षाकर्मी खटाइएका छन् । तत्काल बीओपीको नेतृत्व सशस्त्र प्रहरी नायब निरीक्षकले गरेका छन् । केही समयपछि सशस्त्र प्रहरी निरीक्षकले नै बीओपीको नेतृत्व गर्ने डिएसपी विष्टले बताए । गत मङ्गलबार नै दार्चुलाका तीनवटै स्थानमा बीओपी उद्घाटन गर्ने तयारी भएपनि महाकाली लोकमार्गअन्तर्गत मालिकार्जुन गाउँपालिकाको पनेबाँजमा सडक अवरुद्ध भएर डिआइजी बुढाथोकी बैतडीमै रोकिएका थिए ।

भारतबाट अतिक्रमित नेपाली भूमि कालापानी क्षेत्र नजिकको व्यासको छाङरुमा गत वैशाख ३१ गते बीओपी स्थापना गरिएको थियो । दोस्रो चरणमा अतिक्रमित भूमि कालापानी नजिकको कौवाक्षेत्र, महाकाली नगरपालिका—९ दत्तु, व्यास गाउँपालिका—३ सुनसेरा र व्यास गाउँपालिका—१ चीन सीमा नजिकको तिङ्कर लगायत विभिन्न स्थानमा बीओपी थप्ने सरकारको तयारी छ । जिल्ला सुरक्षा समितिले उक्त चारवटै स्थानमा बीओपी थप्न सिफारिस गरिसकेपनि गृह मन्त्रालयले निर्णय गर्न बाकी रहेको उनले बताए ।

बीओपी उद्घाटन गर्दै डिआइजी बुढाथोकीले स्थानीय नागरिक र भारतीय सुरक्षाकर्मीसँग समेत समन्वय गरी सीमा गस्ती र सीमा सुरक्षा निगरानी गरिने बताउनुभयो । पछिल्लो समय सीमा क्षेत्रमा सुरक्षा उपस्थिति बढेसँगै सीमा निगरानी र आपराधिक घटनामा कमि आएको सुरक्षा अधिकारीहरू बताउछन् ।

छाङरुस्थित बीओपीबाट सशस्त्र प्रहरी निरीक्षक लिलिबहादुर चन्दको नेतृत्वमा सुरक्षाकर्मी नेपाल—चीन एक नम्बर सीमा स्तम्भ, कौवा क्षेत्र र तिङ्करमा समेत नियमित गस्ती गर्न थालेका छन् । सीमामा सशस्त्रको उपस्थिति बढ्दैगएपछि सीमा सुरक्षा, अवैध चोरी सिकार, तस्करी, प्रतिबन्धित सामानहरूको ओसारपसार लगायत गतिविधि नियन्त्रण हुने भन्दै स्थानीय हर्षित भएको लेकम गाउँपालिका—३ का स्थानीय डम्बर भण्डारीले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस