असार २४, काठमाडौँ । स्थगित नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी बैठकले निरन्तरता पाउने भएको छ । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको छलफलमा सहमति भएपछि बुधबारको बैठकले निरन्तरता पाउने भएको हो । यसअघि तयारी नपुगेको भन्दै सोमबारको बैठक बुधबारका लागि सारिएको थियो ।
यसअघि स्थायी कमिटी बैठक बस्नुअघि दुवै अध्यक्षबीच छलफल गरी निष्कर्ष निकालेर मात्र बैठक बस्ने निर्णय भएको थियो । सोही निर्णयअनुसार अध्यक्षद्वयबीच दुई दिनदेखि चलिरहेको छलफल मङ्गलबार पनि जारी थियो । बुधबार स्थायी कमिटी बैठक बस्नुअघि पनि पुनः छलफल हुने जनाइएको छ ।
अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाका अनुसार दुई अध्यक्षबीच सोमबार भएको छलफलकै निरन्तरता मङ्गलबारको बैठक पनि रह्यो । छलफलमा भएको सहमतिअनुसार बुधबारको स्थायी कमिटीलाई निरन्तरता दिइने जानकारी उनले दिए ।
मङ्गलबारै राष्ट्रिय सभाका सदस्य खिमलाल भट्टराईको नेतृत्वमा गएको एक टोलीले पार्टीका सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापालाई भेटेर पार्टी एकता जोगाउन आग्रह गरेको छ । पार्टी सङ्कटमा परेको भन्दै त्यसको समाधानका लागि भूमिका खेल्न मन्त्री थापालाई उहाँहरूले आग्रह गरे ।
दुई पक्षबीच मङ्सिर २० गते भएको सम्झौताअनुसार नै पार्टी अगाडि बढ्छ र त्यसका लागि आफूले पहल गर्ने जानकारी उनले दिएको भट्टराईले बताए ।