असार २५,काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादव भारतीय मिडियालाई दिएको एउटा अन्तरवार्ताका कारण सामाजिक सञ्जालमा आलोचित बनेका छन् । तर, आफूले बोलेका कुराहरु तोडमोड गरेर भारतीय मिडियाले बदमासी गरेको यादवको गुनासो छ ।
भारतीय च्यानल टीभी ९ सँगको अन्तरवार्तामा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले ‘प्रधानमन्त्री ओली हनी ट्र्यापिङमा फसेको कुरा अस्वीकार गर्न नसक्ने’ बताएको भन्दै एउटा फुटेज प्रचार गरिएको छ । यो फुटेजलाई नेपालीहरुले पनि सामाजिक सञ्जालमा सेयर गर्दै यादवको आलोचना सुरु गरेका छन् ।
प्रधानमन्त्री ओली र नेपालका लागि चिनियाँ राजदूत होऊ यान्छीका विषयमा भारतीय मिडियाले आपत्तिजनक रिपोर्ट बनाएको सन्दर्भमा नेपालका पूर्वउपप्रधानमन्त्री यादवसँग टीभी ९ का अभि उपाध्यायले प्रश्न सोधेका थिए ।
अन्तरवार्तामा यादवलाई सोधिएको छ, ‘कयौं स्रोतबाट यो कुरा आइरहेका छन् । नेपालको कम्युनिष्ट पार्टीभित्र पनि कुरा उठिरहेको छ कि किन चीनका राजदूतको हस्तक्षेपलाई ओलीले बढावा दिइरहेका छन् भनेर । त्यसैले म यो सवाल तपाईंसँग गर्दैछु कि के यो हनी ट्रापको मामला हुन सक्छ र?’
भिडियोमा यादवले जवाफ दिन्छन्, ‘यो कुरालाई इन्कार गर्न सकिँदैन । यसलाई गहिरोसँग हेर्नुपर्ने आवश्यकता छ । मानिसहरुले सवाल उठाइरहेका छन् । यसमा पनि केही तर्क छ ।’
प्रस्तोताले फेरि सोध्छन्, ‘के यो विषयमा अनुसन्धान हुनुपर्छ भन्ने तपाईंको आशय हो ?’
यादवले भन्छन्, ‘निश्चितरुपमा यसलाई जरोसम्म पुगेर हेर्नुपर्ने हुन्छ ।’