साउन ५, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुई अध्यक्षबीच बालुवाटारमा भएको वार्ता सम्पन्न भएको छ । सहमतिको प्रयास जारी राख्न सोमबार पुनः बैठक बस्नेगरी आजको वार्ता सम्पन्न भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ । पार्टीभित्र विद्यमान विवाद अन्त्यको प्रयासका लागि दुवै जना अध्यक्ष वार्तामा सक्रिय भएका छन् । तर ठोस सहमतिमा पुग्न सक्नुभएको छैन ।
प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईंका अनुसार आइतबार साँझ दुई अध्यक्षबीच करिब दुई घण्टा एक्लाएक्लै वार्ता भयो । वार्तामा सहमति भए नभएको बारे जानकारी नगराइएको उनले बताए । शनिबार बसेको नेकपाको सचिवालय बैठकमा दुई अध्यक्षबीच सहमति बनेको समाचार बाहिर आएको थियो ।
शनिबार दुवैजना अध्यक्ष सचिवालय बैठकपछि राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेपछि सहमति बनेको आकलन पार्टीका अन्य नेताहरूले गरेका थिए । दुई अध्यक्षबीचको वार्ता निस्कर्षमा पुगोस् भनेर पार्टीले स्थायी कमिटीको बैठक मङ्गलबारसम्मका लागि स्थगित गरेको छ ।