साउन १०, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले शुक्रबार दिएको सार्वजनिक अभिव्यक्तिको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले खण्डन गरेका छन् । दाहालले भने जस्तो नेकपाको केन्द्रीय कमिटीबाट नेपालको नक्सा सार्वजनिक गर्ने निर्णय नभएको थापाले बताएका छन् ।
सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै थापाले प्रधानमन्त्री ओलीकै अग्रसरतामा नक्सा जारी गरिएको उल्लेख गरेका छन् । उनले सर्वदलीय सहमतिका आधारमा नेपालका नक्सा जारी गरिएको र सुझाव दिनुजस्तो सजिलो नक्सा जारी गर्नु नहुने पनि उल्लेख गरेकाछन् ।
दाहाललको कार्यशैली र नेतृत्वप्रति पनि थापाले प्रश्न गरेका छन् । १५ दिन भित्र एकता टुंग्याउने केन्द्रीय कमिटीको निर्णय कार्यान्वयन नभएको थापाले बताएका छन् । सरकारले गरेको काममा सिंगो राष्ट्र एकढिक्का हुँदा विवाद र भ्रम छर्ने काम भएको पनि थापाले उल्लेख गरेका छन् । “विपक्षी दलका नेताको यसमा कुनै गुनासो र हीनता प्रकट नहुने, सत्ताधारी दलभित्र किन उछिनपाछिनको होडबाजी चलिरहेको छ ? ”, थापाले प्रश्न गरेका छन्। उनले पार्टीभित्र मपाइत्व प्रदर्शन भएको समेत आरोप लगाएका छन् ।
“तथ्यको आफूखुशी अपव्याख्या र भ्रष्टिकरण किन ? ”, थापाले लेखेका छन् । दाहालले पार्टी निर्णयबाट नक्सा जारी गरिएको बताएका थिए ।