असोज २३, काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको बैठक सकिएको छ । बैठकमा पार्टीको सांगठनिक एकताका बाँकी काम चाँडै सम्पन्न गर्ने प्रतिवद्धता अध्यक्षद्वयले जनाए ।
अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाकाअनुसार आज विहिबार बसेको बैठकमा दुई अध्यक्षबीच पार्टीको सांगठनिक एकता प्रक्रियाको बाँकी काम चाँडै सक्काउने विषयमा केन्द्रित भएर छलफल भएको छ । दुवै अध्यक्षले सचिवालय बैठकले दिएको जिम्मेवारीअनुसार काम सम्पन्न गर्ने प्रतिवद्धता जनाउनुभएको सापकोटाले बताए । यसअघि असोज ६ गतेको बैठकले मन्त्रिपरिषद पुनर्गठन, संवैधानिक निकायमा पदपूर्ति तथा पार्टीको सांगठनिक एकतामा दुई अध्यक्षबीच गृहकार्य गर्ने जिम्मेवारी दुई अध्यक्षलाई दिएको थियो । अन्तरपार्टी निर्देशनमा समेत दुबैजना अध्यक्षले असोज मसान्तभित्र पार्टीको सांगठनिक एकताको काम सम्पन्न गर्ने प्रतिवद्धता जनाइसकेका छन् ।
प्रेस सल्लाहकार सापकोटाकाअनुसार मध्यान्ह १२ बजेदेखि शुरुभएको बैठक अढाई बजे सकिएको थियो । नियमित बसिरहेको दुई अध्यक्षबीचको बैठकले चाँडै ठोस प्रस्ताव तयार गर्ने आशा सचिवालयका सदस्यहरुले गरेका छन् ।