असोज २३, काठमाडौं । शुक्रबार आजदेखि तीनदिने दोस्रो विश्व ज्ञान सम्मेलन शुरु हुँदै छ । भर्च्यूअल रुपमा हुने सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले अपरान्ह उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
गैरआवासीय नेपाली संघ र नेपाल सरकारको सहआयोजनामा भएको सम्मेलनको उद्घाटन सत्रलाई परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवाली, गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त, संस्थापक अध्यक्ष डा। उपेन्द्र महतो, पूर्वअध्यक्षहरू देवमान हिराचन, जीवा लामिछाने, शेष घले, भवन भट्ट, नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासहितले सम्बोधन गर्ने भएका छन् ।
२५ भन्दा बढी देशका १०० भन्दा बढी प्रतिष्ठित विश्वविद्यालय, अनुसन्धान केन्द्रहरुबाट ३०० भन्दा बढीको सहभागिता रहनेछ । सम्मेलनमा २०० वटा कार्यपत्र प्रस्तुत हुने सम्मेलनका संयोजक तथा गैरआवासीय नेपाली संघका महासचिव डा। हेम राज शर्माले जानकारी दिए ।सम्मेलनमा चारवटा प्लेनरी र विविध विषयमा १५ वटा सिम्पोजियम सत्र रहनेछन् ।