मन्त्री पोखरेलले सम्हाले जिम्मेवारी

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ आश्विन २९, बिहिबार (४ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

असोज २९, काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार एक्कासी मन्त्रिपरिषद् पुनर्गठन गरेपछि विवादित मन्त्री ईश्वर पोखरेलको रक्षा मन्त्रालय खोसियो । उनको मन्त्रालय अहिले प्रधानमन्त्री आफैंले राखेका छन् । पोखरेलको हकमा भने प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय हेर्ने जिम्मेवारी तोकिएको छ । शक्तिशाली सरकारको शक्तिशाली रक्षा मन्त्री बनेका पोखरेल पटकपटक विवादमा परेका थिए । उनी पोखरेल स्वास्थ्य सामग्री खरिद प्रकरणदेखि सेनाको कतिपय सवालसम्ममा विवादित बनेका थिए ।

कोरोना महामारीको समयमा त्यसविरुद्ध जुध्ने सरकारी संयन्त्रको नेतृत्वकर्ता भएका उनले आफ्नो क्षमता देखाएर जनतालाई कोरोना कहरबाट राहत दिलाउन सकेनन् । उनकै रणनीतिक असफलताबाट अहिले कोरोना संक्रमण सरकारको नियन्त्रणबाहिर पुगिसकेको छ । कोरोनासँग सम्बन्धित सामग्री खरिद प्रक्रियामा अनियमता भएको र त्यसमा मन्त्री पोखरेलको संलग्नताको आरोप लागेको छ। साथै, उनकै कारणले यो प्रक्रियामा सेना समेत विवादमा फस्यो । कोरोनासँग सम्बन्धित काममा पोखरेलकै कारण सरकार विवादित बन्यो ।

ओलीले मन्त्रीमण्डलमा केही नयाँ अनुहार भित्र्याएका छन् । नयाँ मन्त्री थपिए पनि पोखरेललाई मात्र हटाउन सम्भव नभएपछि प्रधानमन्त्रीले हाललाई आफ्नो मन्त्रालयमा राखेको हुनसक्ने आकलन गरिएको छ । यसरी शक्तिशाली सरकारको उपप्रधानमन्त्री रहेका पोखरेललाई दिइएको मन्त्रालय खोसिएपछि उनीमाथि कारबाही भएको र उनको बढुवा भएको दुवै कोणबाट चर्चा सुरु भएको छ । तर, रक्षा मन्त्रालयका लागि पोखरेल उपयुक्त पात्र होइन रहेछन् भन्नेचाहिँ उनलाई सो जिम्मेवारीबाट मुक्त गर्नुले देखाउँछ । यसैबीच पोखरेलले बिहीबार प्रधानमन्त्री कार्यालयमा पदबहाली गरेका छन् ।

आगामी दिनमा उनले कसरी काम गर्छन् भन्नेले नै उनको बढुवा भएका हुन् वा कारबाहीमा परेका हुन्ने भन्ने प्रष्ट हुनेछ । मन्त्रीलाई प्रधानमन्त्री कार्यालयको जिम्मेवारी तोकिएको भने यो पहिलो पटक होइन । यसअघि पनि पटकपटक यस्तो अभ्यास भइसकेको छ । यसअघि २०६७ सालमा तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले मन्त्री घनश्याम भुसाललाई पनि ‘प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय हेर्ने’ जिम्मेवारी दिएका थिए । अहिले पोरखेलले पाएको जिम्मेवारी २०६७ सालमा भुसालले पाएकै जिम्मेवारी जस्तै हो । भुसालको त्यो जिम्मेवारी त्यतिबेला ‘छाया प्रधानमन्त्री’ का रुपमा नभएर ‘जगेडा मन्त्री’ वा ‘विनाविभागीय’ मन्त्रीका रुपमा स्थापित भएको थियो । खनालको मन्त्रिपरिषदमा सुरुमा भुसाललाई बिना विभागीय मन्त्री बनाइएको थियो । पछि उनको जिम्मेवारी प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय हेर्ने गरी तोकियो । २०७४ सालमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले ६४ सदस्यीय जम्बो मन्त्रिमण्डल बनाउँदा तत्कालीन माओवादी केन्द्रका मन्त्रीहरुलाई जिम्मेवारीमुक्त गरेका थिए । सरकारमा माओवादको नेतृत्व गरेका कृष्णबहादुर महरा लगायतका मन्त्रीहरु बिना विभागीय मन्त्रीका रुपमा केही समय सरकारमै रहेका थिए । रासस

 

 

ताजा अपडेट

खोजी गर्नुहोस