कार्तिक २५,काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष प्रचण्ड बालुवाटारबाट सिधै पार्टी मुख्यालय धुम्बाराही पुगेका छन् । उनिसहितका ५ नेता सम्मिलित सचिवालयको अनौपचारिक बैठक पार्टी कार्यालय धुम्बाराहीमा सुरु भएको छ । यसअघि प्रचण्डले प्रधानमन्त्रीसमेत रहेका पार्टीका पहिलो अध्यक्ष केपी ओलीलाई भेटेका थिए ।
स्रोतका अनुसार बालुवाटारमा ओली टसमस नभएको बुझिएको छ । उनले एजेण्डाविना पार्टीको सचिवालय बैठक नबोलाउने अडान लिएको बताइएको छ । त्यसपछि प्रचण्ड निराश हुँदै धुम्बाराही लागेको समाचार स्रोतले अनलाईनकेन्द्रलाई बताएको छ । ओली–प्रचण्डबीच एकदमै थोरै समय छलफल भएको बुझिएको छ । प्रचण्ड–माधव नेपालसहित अन्य ३ सचिवालय सदस्य बैठक यसअघि पनि बसेको थियो ।
सो बैठकले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीलाई तत्काल बैठक बोलाउन आग्रह गर्दै पत्र बुझाएपनि ओलीले बैठक नबोलाएपछि अब कसरी अघि बढ्ने भन्नेबारे छलफल गर्न सचिवालयका ५ नेताको बैठक पुनः बसेको हो ।
आजको बैठकमा पनि प्रचण्डसहित सचिवालय सदस्यहरु माधव कुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठ सहभागी छन् ।