दुम्किबास-दाउन्ने सडक रातिमा १० घण्टा बन्द

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ अषाढ ८, आईतबार (५ घण्टा अघि)
  • ५१ पटक पढिएको
दुम्किबास-दाउन्ने सडक रातिमा १० घण्टा बन्द

असार ८, काठमाडौं । पूर्व–पश्चिम राजमार्गको बुटवल–नारायणगढ सडकखण्ड रातिमा सवारी साधनको आवागमन बन्द गरिने भएको छ । नवलपुरको दुम्किबास र दाउन्नेमा दैनिकजसो सडक अवरुद्ध भएर दुर्घटनाको जोखिम बढेपछि केही दिनलाई ठुला र मालवाहक सवारीसाधनमा रोक लगाइएको हो ।

सडक विभाग आयोजना निर्देशनालयले शनिबार सूचना जारी गरेर दाउन्ने–दुम्किबास क्षेत्रमा साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म १० घण्टा ठुला सवारीसाधनमा रोक लगाइएको जानकारी गराएको छ ।

आयोजना निर्देशनालयका निर्देशक इञ्जिनियर चुडाराज ढकालले शुक्रबार जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेको अध्यक्षतामा बसेको बैठकको निर्णयअनुसार शनिबारदेखि रातिको समयमा सडकमा यातायात सञ्चालनमा रोक लगाइएको बताए ।

‘निर्माणाधीन नारायणघाट–बुटवल सडकको दुम्कीबासस्थित विनयी खोला पुलको डाइभर्सन सडक वर्षाले बारम्बार बगाइरहेकाले सो स्थानमा बनेको नयाँ पुल सञ्चालनमा नआउने वेलासम्म रातिमा सडकमा यातायात सञ्चालन बन्द गर्ने निर्णय भएको छ’, उनले भने, ‘यसैगरी दाउन्ने खण्डको केही स्थानमा ग्राबेल राखेर सडक मर्मत गर्ने काम भइरहेकाले दाउन्नेमा सहज रूपमा यातायात सञ्चालन नहुने वेलासम्मका लागि रातिमा सडक बन्द गरिएको हो ।’

सडक खण्डमा ठूला र मालवाहक सवारीसाधन सञ्चालन गर्न नदिने गरी रोक लगाइएको ढकालको भनाइ छ । ठूला र मालवाहक सवारीसाधनलाई नारायणघाट बुटवल सडकको वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गर्दै निर्देशक ढकालले साना सवारीसाधनसमेत सडकको अवस्था हेरेरमात्रै दिउँसोमा यात्रा गर्न सुझाव दिए ।

दुम्किबासको विनयी खोलाको पुलको डाइभर्सन सडक वर्षाले लगातार बगाइरहेकाले दाउन्ने सडकखण्डको पूर्वी खण्डको नौ किलोमिटर सडक वर्षाले हिलो र चिप्लो हुँदा लगातार पाँच दिनदेखि यातायात सञ्चालनमा कठिनाइ भएको छ । अहिले विनयी त्रिवेणी गाउँपालिकाको सहयोगमा पाँच सय टिप गिटी ल्याएर बिछ्याउन थालिएको छ ।

यस्तै बाढी पहिरोको जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गमा गएरातिदेखि १५ दिनसम्म रातमा यात्रुवाहक गाडी चलाउन रोक लगाइएको छ । काभ्रेको काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको खुर्कोट सडक खण्ड बढी जोखिमयुक्त भएकाले बेलुका साढे ६ बजेदेखि बिहान ५ बजेसम्म यात्रुवाहक गाडी चलाउन रोक लगाइएको हो ।

यस्तै पृथ्वी राजमार्गअन्तर्गत नौबिसे–मलेखु खण्ड आज र भोलि दुई दिन रातको समयमा बन्द हुँदैछ । राति १० बजेदेखि बिहान तीन बजेसम्म पाँच घण्टा सडक बन्द हुने मुग्लिन–नारायणगढ सडक योजना पूर्वी खण्डका प्रमुख इन्जिनियर केशव ओझाले जानकारी दिए ।

निर्माणाधीन अवस्थामा रहेको सडक खण्डमा बनेका नयाँ पुलहरूको गडर राख्नका लागि सडक खण्ड बन्द गरी काम गर्ने भएको हो । काठमाण्डौ आउने गाडीलाई मलेखु मझिमटार र वेनीघाटतर्फ रोकिने छ भने नौबिसेबाट मलेखु जाने गाडीलाई बैरेनी, आदम घाटमा रोकिने छ ।

सडक बन्द भएको समयमा दमकल, प्रहरी र एम्बुलेन्स लगायत अत्यावश्यक गाडीहरु बाहेक अन्य गाडीहरु सञ्चालनमा रोक लगाएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस