इरानका तीन परमाणु केन्द्रमा अमेरिकाको बमबारी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८२ अषाढ ८, आईतबार (३ घण्टा अघि)
  • ५८ पटक पढिएको
इरानका तीन परमाणु केन्द्रमा अमेरिकाको बमबारी

असार ८, काठमाडौं । अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा आक्रमण गरेको छ । इरानका फोर्दो, नतान्ज र एस्फाहान परमाणु केन्द्रमा अमेरिकी सेनाले आक्रमण गरेको राष्ट्रपति डोनाल्ड ट्रम्पले जानकारी दिएका छन् ।

ट्रम्पले भनेका छन्, ‘सबै विमान सुरक्षित तरिकाले आफ्नो घरतिर फर्किरहेका छन् । हाम्रा महान् अमेरिकी योद्धाहरुलाई बधाई । विश्वमा यस्तो गर्न सक्ने सेना अरु कसैसँग छैन ।’ उनले अब शान्तिको समय पनि आएको बताएका छन् ।

इरानको फोर्दो भूमिगत आणविक भट्टीलाई अमेरिकी बंकर बस्टर बमले मात्रै ध्वस्त पार्न सक्ने बताइन्छ । ट्रम्पले फोर्दोमा बमको पूरै पेलोड खसाइएको बताएका छन् । तर त्यो बम कस्तो खालको हो भन्ने स्पष्ट भइसकेको छैन । र, फोर्दो आणविक केन्द्रमा क्षति पुगेरनपुगेको जानकारी पनि प्राप्त भएको छैन ।

इजरायल र इरानबीच युद्ध चलिरहेका बेला अमेरिका पनि इरानविरुद्धको आक्रमणमा उत्रिएको हो । इजरायलले इरानविरुद्ध १३ जुनदेखि आत्रमण सुरु गरेको थियो । अहिलेसम्म १० इरानी न्युक्लियर वैज्ञानिक, सेनाका तीन कमाण्डर र ४ जवानको हत्या गरिसकेको इजरायलले जनाएको छ ।

अमेरिकास्थित ह्युमन राइट्स एक्टिविस्ट न्युज एजेन्सीका अनुसार १३ जुनदेखि अहिलेसम्म इरानमा ६५७ जनाको मृत्यु भइसकेको र २००० बढी घाइते भएका छन् । इरानको स्वास्थ्य मन्त्रालयले भने ४३० जना नागरिक मारिएको ३ हजार ५०० बढी घाइते भएको पुष्टि गरेको छ ।

यसैगरी इरानले गरेको आक्रमणबाट इजरायलमा २४ जना मात्र मारिएको दाबी गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस