असार ८, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले जटिल प्रकृतिका रोगको उपचारका लागि स्वास्थ्य बीमा कोषमार्फत थप एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेका छन् ।
यस निर्णयसँगै अब क्यान्सर, मुटुरोग, मिर्गौला रोग, हेड इन्जुरी, स्पाईनल इन्जुरी, सिकलसेल एनिमिया, पार्किन्सोनिज्म र अल्जाइमरका बिरामीहरूले अतिरिक्त एक लाख रुपैयाँको उपचार सुविधा पाउने भएका छन ।
स्वास्थ्य बीमा कोष प्रभावकारी नबनेको आलोचना भइरहेका बेला नीतिगत सुधार र वित्तीय संरचना बलियो बनाउँदै मन्त्री पौडेलले बीमा प्रणालीमा नयाँ ऊर्जा थप्ने प्रयास गरेको मन्त्री पौडेलको सचिवालयले जनाएको छ । यो निर्णयअनुसार, अब सत्तरी वर्ष नाघेका ज्येष्ठ नागरिकले मात्र उपभोग गर्नेगरी नयाँ सुविधा थैली लागू गरिनेछ ।
बीमाको दायरा बढाउन थैली प्रणाली लागु गरिने भनिएको छ, तर दुरुपयोग हुन नदिन स्वास्थ्य बीमा बोर्डलाई सावधानीसहितको निर्देशन समेत दिइएको स्वास्थ्य मन्त्रालयको भनाइ छ । तर, स्वास्थ्य मन्त्रालयको नयाँ संगठन तथा व्यवस्थापन ओएनएम० संरचनामा रेडियोग्राफी सेवाको दरबन्दी हटाइएको भन्दै सरकारी रेडियोग्राफी सोसाइटीले आपत्ति जनाएको छ ।
दरबन्दी नै नतोकिनु स्वास्थ्य सेवा कमजोर बनाउने चासोसहित सोसाइटीले हातमा कालोपट्टी बाँधेर विरोध सुरु गरेको छ । शान्तिपूर्ण आन्दोलन भोलिसम्म चल्ने जनाएको सोसाइटीले त्यसबीचमा संवाद नभए सशक्त आन्दोलनमा जाने चेतावनी दिएको छ ।