तामाकोशी नदीमा निर्माणाधीन पक्की पुल भाँच्चियो

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ अषाढ ८, आईतबार (५ घण्टा अघि)
  • ५५ पटक पढिएको
तामाकोशी नदीमा निर्माणाधीन पक्की पुल भाँच्चियो

असार ८, रामेछाप । तामाकोशी नदीमा निर्माणाधीन मोटरेबल पुल भाँच्चिएको छ । मन्थली नगरपालिका-६, कुनौरी र वडा नं-७ भटौली जोड्ने निर्माणाधीन पुलको बिचभागको स्ल्याब आइतबार बिहान भाँच्चिएको हो ।

यसअघि पनि गत वैशाख २६ गते कुनौरीतर्फ पर्ने एउटा स्ल्याब भाँच्चिएको थियो । भाँच्चिएको ठाउँमा पुनर्निर्माणसँगै भटौलीतर्फ जोड्ने पुलको स्ल्याब ढलान भएको केही समयपछि बिचभागको स्ल्याव भत्किएर नदीमा झरेको हो ।

उक्त पुल सडक विभागको पुल शाखाले ०७८/७९ मा टेन्डर आह्वान गरेसँगै कालिका कल्पवृक्ष जेभीले भ्याट र पिएस आइटमबाहेक २२ करोड ५५ लाख ४० हजार रुपैयाँमा ०८२ भदौ महिनाभित्र काम सक्ने गरी ठेक्का सम्झौता गरेको थियो । डिजाइन एन्ड बिल्ड प्रकृतिको निर्माणाधीन उक्त पुल लम्बाई २३० मिटर र चौडाइ ११ मिटर रहेको छ ।

निर्माणाधीन उक्त पुलमार्फत सदरमुकाम मन्थली हुँदै क्षेत्र नं. २ को खाँडादेवी, दोरम्बा, शैलुङ र सुनापति गाउँपालिकासँग प्रत्यक्ष जोडिन्छ । यस मार्ग भएर राजधानी जान छोटो दूरी पर्नेछ भने सोही बिपी राजमार्ग पनि सोही पुलमा जोडिनेछ ।

पुल निर्माणको क्रममा निर्माण व्यवसायीले मापदण्डअनुसार काम नगर्दा पुल भाँच्चिएको हुन सक्ने आशंका रहेको स्थानीयहरूले बताएका छन् । पुल निर्माणमा कहीँकतै कमजोरी भएकै कारण यस्तो दुःखद घटना भएको मन्थली नगरपालिका– ७, भटौलीका रामचन्द्र शर्माले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस