असार ८, काठमाडौं । कर्णालीका समस्या सुनाउन खाली खुट्टा हिडेर काठमाडौं आउनु भएका अभियन्ता नवराज बोहोराले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् ।
३१ दिन लगाएर प्रधानमन्त्री ओलीलाई भेटेर कर्णालीका समस्या सुनाउन राजधानी आएका बोहराले आइतबार ५ दिनपछि प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरेका हुन् । प्रधानमन्त्री ओलीसँग भेटेपछि बोहराले आफ्ना कुराहरू सुनाउन पाएकामा खुसी व्यक्त गरे ।
कर्णालीको सुशासन, विकास, पर्यावरणीय सन्तुलन र पशु संरक्षणलागयत मुद्दा उठाएर गत जेठ ४ गतेदेखि यात्रा शुरू गरेका बोहरा ३१ औं दिनमा यही असार ३ गते काठमाडौं आइपुगेका थिए । सोही दिन प्रधानमन्त्री ओलीलाई भेट्न खोजेका बोहराले प्रधानमन्त्रीले कार्यव्यस्तताका कारण देखाउँदै भेट्न अस्विकार गरेपछि उनी निराश बनेका थिए ।
प्रधानमन्त्रीले भेट नदिएको भन्दै बोहराले प्रधानमन्त्री ओलीलाई आफूले अभियान र यात्राका क्रममा देखेका अनुभव, उपचार नपाएका बालबालिका आदिका समस्या र समस्या समाधानका लागि गरिएका पहलबारे अवगत गराएको बताए ।
प्रधानमन्त्री ओलीले पवित्र भावनाका साथ अभियान सञ्चालन गर्न सुझाव दिँदै शरीरलाई धेरै दुःख नदिइ आफ्नो स्वास्थ्य र परिवारको पनि ख्याल गरेर अघि बढ्न आग्रह गरेको उनले सुनाए । आफूले राखेका समस्याबारे प्रधानमन्त्री सकारात्मक रहेको बताउँदै आफूले सक्दो सहयोग गर्न आश्वासन पाएको उनले बताए ।