पुस २५, काठमाडौं । निर्वाचन आयोगले नेकपाका दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पठाएको पत्र नमिलेको भन्दै दुवै अध्यक्षलाई पुनः सात दिनभित्र पत्र पठाउन ताकेता गरेको छ । नेकपामा अध्यक्ष ओली समूह र दाहाल–नेपाल समूहबीच पार्टी तथा निर्वाचन चिह्न सम्बन्धमा विवाद रहँदै आएको छ । दुवै समूहले आफूहरू नै आधिकारिक पार्टी रहेको र सूर्य चिह्न पाउनुपर्ने दाबी गर्दै आइरहेका छन् ।
यसका लागि दुवै समूहले आयोगमा आआफ्नो दाबी पेस गरेका थिए । तर निर्वाचन आयोगले दुवै समूहले यसअघि पठाएको विवरण नमिलेको भन्दै सुधारसहितको नयाँ विवरण माग गरेको हो । आयोगले शुक्रबार दुवै अध्यक्षलाई पत्र लेख्दै तथ्यसहितको विवरण माग गरेको छ । आयोगको बैठकबाटै दुवै समूहसँग तथ्यसहितको विवरण माग गर्ने निर्णय भएको हो ।