माघ १६, काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘हामीले आज उपभोग गरिरहेको स्वतन्त्रता र नागरिक अधिकार विगतमा शहीदले गरेका बलिदानको प्रतिफल’ भएको बताएकी छिन् । शहीद दिवसका अवसरमा शुक्रबार सन्देश दिदै राष्ट्रपति भण्डारीले नागरिक स्वतन्त्रता, लोकतन्त्रको स्थापना र राष्ट्रियताको रक्षाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने महान् शहीद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठलगायत सबै अमर शहीदप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरे । नेपाली जनतालाई स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन निरङ्कुश र तानासाही शासन व्यवस्थाविरुद्धका आन्दोलनमा आफ्नो जीवन बलिदान गर्ने वीर वीरङ्गनाप्रति सम्मान गर्दै माघ १६ मा शहीद दिवस मनाउने गरिन्छ ।
आफ्नो अमूल्य जीवनलाई जनता र राष्ट्रको हितका खातिर समर्पण गर्नु नै शहादत हो भन्दै राष्ट्रपति भण्डारीले शहीद दिवसले हामीलाई शहीदले गरेको यही सर्वोच्च त्यागको स्मरण गराउँछ भनिन् । शहीदहरूको बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै शहीदप्रति सच्चा श्रद्धाञ्जलि हुने विश्वास राष्ट्रपतिले लिईन् ।