माघ १८, काठमाण्डौ । सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक निकायमा नियुक्तिका लागि सिफारिस भएका व्यक्तिको सुनुवाइका लागि पठाइएका कागजात फिर्ता पठाएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, मानव अधिकार आयोगलगायतका संंवैधानिक निकायमा नियुक्त भएका व्यक्तिको संसदीय सुनुवाइका लागि सङ्घीय संसदमा पठाइएका कागजात सभामुख सापकोटाले फिर्ता गरेका सचिवालयले जनाएको छ ।
अहिलेको अवस्थामा संसदीय सुनुवाइ हुन सक्ने अवस्था नरहेकोलगायत सात वटा कारणसहित सिफारिस फिर्ता पठाउने निर्णय लिएको सभामुख सापकोटाले बताए । गएको मङ्सिर ३० गतेको संवैधानिक परिषद्को बैठकमा सभामुख उपस्थित नभएपछि प्रधानमन्त्री, प्रधानन्यायाधीस र राष्ट्रिय सभाका अध्यक्षसहित जम्मा तीन जनाको बैठकले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएको थियो ।