माघ १८, काठमाण्डौ । नेकपा दाहाल नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले नेकपाको ओली समूहमा भएकाहरुलाई लोभी र दलाल भनेका छन् । अखिल नेपाल किसान महासंघको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै दाहालले केपी शर्मा ओली पार्टी एकताको पक्षमा नभएकोले अहिलेको अवस्था आएको बताएका हुन् । उनले संविधान नेपाली जनताको उपलब्धी भएकोले यसको रक्षाको लागि सबै एकजुट हुनुपर्ने पनि बताए ।
‘केपी ओलीसँग अब मान्छे छैनन् । केही भ्रम र लोभमा परेर गएका छन् । अझै बीचमा रहेका र भ्रममा परेकालाई आफ्नो पक्षमा ल्याउने पहल गर्नुपर्छ,’ रामबहादुर थापा, टोपबहादुर रायमाझीलगायतलाई लक्षित गर्दै उनले भने, ‘लोभमा परेर गएका दलालहरु नर्फकिए संगठन राम्रो हुन्छ ।’ पार्टी एकता हुँदा प्रधानमन्त्री खुसी नभएको उनको आरोप छ ।