महाकाली तुइन प्रकरणमा गोलमटोल छानबिन प्रतिवेदन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ भाद्र १६, बुधबार (३ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

भदौ १६, काठमाडौँ । दार्चुलाको व्यास गाउँपालिका–२, मालका, ३३ वर्षीय जयसिंह धामी तुइनबाट खसेर बेपत्ता भएको घटनाबारे छानबिन गर्न गठित समितिले भारतीय सीमा सुरक्षा बल (एसएसबी)को उपस्थितिमा घटना भएको निष्कर्ष निकालेको छ । मंगलबार साँझ समितिका संयोजक जनार्दन गौतमले गृहमन्त्री बालकृष्ण खाँणलाई एक महिना गलाएर तयार पारिएको प्रतिवेदन बुझाएका थिए ।

समितिले अनुसन्धानमा कानुनी जटिलता रहेको उल्लेख गर्दै बुझाएको प्रतिवेदनमा भारतीय एसएसबीको उपस्थिति रहेपनि एसएसबीका जबानले तुइन खुस्काएकोबारे किटान गरिएको छैन । पीडित र प्रत्यक्षदर्शीको बयान हुँदाहुँदै पनि समितिले घटनास्थलमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) का जबानको उपस्थिति रहेको मात्रै उल्लेख गर्दै गोलमटोल प्रतिवेदन बुझाएको छ ।

‘भारतीय सुरक्षाकर्मीको उपस्थितिमा घटना भएको देखिएकाले अनुसन्धान गर्नुपर्ने’, प्रतिवेदनमा उल्लेख छ । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा उक्त घटनाबारे भारतीय सुरक्षाकर्मीमाथि अनुसन्धान गरी कारवाहि गर्नुपर्ने उल्लेख छ ।

विज्ञप्तिमा घटनाका बेला भारतीय सुरक्षाकर्मीको उपस्थिति रहेको तर उनीहरूले तुइन काटेको वा नकाटेको भन्नेबारेमा प्रतिवेदनमा केही उल्लेख गरिएको छैन । घटनाबारे छानबिन गर्न गठित समितिले एक महिनासम्म पनि प्रतिवेदन बुझाउन आलटाल गरेको भन्दै आलोचना भएको थियो ।

‘उक्त घटना भारतीय एसएसबीका सुरक्षाकर्मीको उपस्थितिमा भएको देखिएकाले निजहरूको संलग्नता सम्बन्धमा अनुसन्धान गरी दोषीउपर कानुनी कारबाही गर्न, जयसिंह धामीको परिवारलाई उचित क्षतिपूर्ति र राहत उपलब्ध गराउन भारतीय पक्षसँग कूटनीतिक माध्यमबाट पहल गर्न तथा आश्रित परिवारलाई नेपाल सरकारका तर्फबाट पालनपोषण र शिक्षादीक्षाको व्यवस्था गर्नुपर्ने’, विज्ञप्तिमा लेखिएको छ ।

प्रत्यक्षदर्शीले एसएसबीका जबानले तुइन खुस्काइदिँदा जयसिंह नदीमा खसेर बेपत्ता भएको बयान दिएका थिए । बयानका आधारमा प्रतिवेदनमा घटनामा एसएसबीका जवानहरूको संलग्नता भएको किटान गर्नुको साटो उपस्थिति भनेर गोलमटोल पारिएको छ । प्रतिवेदनमा भारतीय भूमिमा भएको घटनाले कतिपय सन्दर्भमा अनुसन्धानमा जटिलता रहेको उल्लेख गरिएको हो । एक महिनापछि बुझाइएको प्रतिवेदनमा यस्तो उल्लेख गरिएको स्रोतको दाबी छ । गृहमन्त्रालयले घटनाको छानबिन गर्न मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा समिति गठन गरेको थियो । प्रतिवेदनमा छानबिनमा भारतीय पक्षले असहयोग गरेको भन्नेचाहिँ उल्लेख गरिएको छ ।

‘छानबिन समितिलाई भारतीय पक्षले सहयोग गरेन, तुइनको लट्ठा काटेको भन्ने स्पष्ट देखिएन तर प्रत्यक्षदर्शीहरूले एसएसबीका जबानले लट्ठा चुँडाएको बताएका छन्, उनीहरूको बयान जस्ताको तस्तै राखिएको छ’, स्रोतले भन्यो । भारतीय पक्षले असहयोग गरेकै कारण प्रतिवेदन भनेजस्तो बनाउन नसकिएको समितिका एक सदस्यले बताए । ती सदस्यका अनुसार यस विषयमा भारतीय पक्षले कुरै गर्न चाहेन । स्थलगत अनुगमन, पीडित परिवार र प्रत्यक्षदर्शीसँग बयान लिएर समितिले प्रतिवेदन तयार पारेको हो । प्रतिवेदनमा ड्रोन उडाएर जयसिंहको खोजी गर्न भारतीय पक्षले असहयोग गरेको र आवश्यक सोधपुछ गर्दा पनि मौन बसेकाले प्रमाण जुटाउन कठिन भएको उल्लेख छ ।

ताजा अपडेट

खोजी गर्नुहोस