विवेकशील साझाका दुई समूहको छुट्टाछुट्टै बैठक बस्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ भाद्र १७, बिहिबार (३ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

भदौ १७, काठमाडौं । दुई अध्यक्षबीच सैदान्तिक मतभेद आएपछि विवेकशील साझा पार्टी केन्द्रीय कार्यसमितिको बैठक छुट्टाछुट्टै बस्न लागेको छ । अध्यक्ष रवीन्द्र मिश्रले एकल रूपमा बैठक आह्‍वान गरेपछि संयोजक मिलन पाण्डेले पनि केन्द्रीय समिति बैठक बोलाएका हुन् ।

अध्यक्ष रवीन्द्र मिश्रले साढे १२ बजे बैठक बोलाएका छन् भने संयोजक मिलन पाण्डेले बिहान ११ बजे बैठक बोलाएका छन् । दुवै बैठक भर्चुअल माध्यमबाट हुने विवेकशील साझाका प्रवक्ता शरद राज पाठकले बताए ।

अध्यक्ष मिश्र समूहले पार्टीमा सृजना भएको वर्तमान वैचारिक बहस, उत्पन्न गतिरोध र त्यसको निकासलाई बैठकको एजेण्डा बनाएको छ । यता पाण्डे समूहले बैठक सञ्चालन कार्यविधि, पार्टीको विधान, पार्टीमा देखिएको वैचारिक विचलन र आगामी कार्यदिशा, एकताको महाधिवेशन, समसामयिक राजनीतिक प्रस्ताव सहित ११ बुँदामा छलफल गर्नेबारे एजेण्डा तय गरिएको छ ।

अध्यक्ष मिश्रले गत साउन ११ गते सङ्घीयताको खारेजी र धर्म निरपेक्षतामा जनमत सङ्ग्रहसहितको राजनीतिक प्रस्ताव सार्वजनिक गरेपछि विवेकशील साझामा वैचारिक मतभेद देखिएको छ । पाण्डे समूहले मिश्रको राजनीतिक प्रस्ताव पार्टीलाई स्वीकार्य नहुने बताएको छ । आजको बैठकमा दुवै पक्षले एक अर्कालाई स्पष्टीकरण सोध्ने तयारी राखेको बुझिएको छ ।

मिश्र समूहले संयोजक पाण्डे, नेताहरू केशव दाहाल र हरिष भट्टलाई प्रस्टीकरण सोध्ने तयारी गरेको छ । यता पाण्डे समूहले पनि अध्यक्ष मिश्र र प्रवक्ता शरद पाठकलाई जिम्मेवारीबाट हटाउने तयारी थालेको छ । त्यसका लागि अहिले पाण्डे समूह आन्तरिक छलफलमा छ । तर विवेकशील साझाको विधान अनुसार मिश्र र पाण्डेले बोलाएको दुवै बैठक अवैधानिक छ ।

गत वर्ष २४ मंसिरमा विवेकशील र साझा पार्टीबीच एकीकरण भएको विवेकशील साझा पार्टी गठन भएको थियो । तर संविधानका मूल विशेषता र गणतन्त्रलाई नै आरोपित गर्ने मिश्रको दस्ताबेजले दलभित्र दुई धार देखिएको हो । मिश्रको ‘संघीयता र धर्मनिरपेक्षता’ मा जनमत संग्रह गर्नुपर्ने प्रस्तावले विवेकशील साझा विभाजनको संघारमा पुगेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस